- Loading...
पोल्ट्री उद्योगमा दैनिक २५ करोड हाराहारीमा नोक्सानी
- कृषि टि.भी.
- ३ साल अघि
- १५ पटक पढिएको

लकडाउनका कारण पोल्ट्री उद्योगमा मात्रै दैनिक २५ करोड हाराहारीमा नोक्सानी भइरहेको व्यवसायीहरुले बताएका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि त्यस क्षेत्र थला परेको उद्योगीहरूको भनाई छ । उनीहरूका अनुसार चल्ला र कुखुराको बिक्री, भारी मात्रामा घटेको छ । अधिकांश दाना उद्योगहरु बन्द भईसकेका छन् । व्यवसायीहरूका अनुसार सबैभन्दा बढी ब्रोइलर कुखुरामा दैनिक करिव १६ करोडभन्दा बढीको नोक्सानी देखिएको छ ।


यता ह्याचरीको चल्ला र अन्डामा चार चार करोड र दानालगायत अन्य उत्पादनमा एक करोडभन्दा बढीको दैनिक नोक्सानी हुने गरेको बताइएको छ । अहिले अन्डा पार्ने र चल्ला उत्पादन गर्ने कुखुरालाई निकै कम दाना दिएर प्राण मात्रै धानिएको ह्याचरी उद्योग संघका महासचिव डा. बलराम केसीले बताउनुभयो । उहाँका अनुसार अन्य समयमा दैनिक एक सय २० ग्राम दाना खुवाउने कुखुरालाई अहिले ३० ग्राम मात्रै दिने गरिएको छ । किसानले भने कुखुरा र अण्डा बेच्न सकेका छैनन् । खोर खाली नभएपछि नयाँ चल्ला बिक्रीबितरण रोकिएको छ । उद्योगीहरुका अनुसार पोल्ट्रीको राजधानी चितवनमा मात्र हरेक साता १५ लाख चल्ला निस्कने गरेका छन् । नेपालभर हप्तामा लेयर्स, ब्रोइलर, गिरिराजका गरी ४२ लाख चल्ला निस्कने गरेको तथ्यांक छ ।

