- Loading...
कृषि क्षेत्रमा सलह किराको त्रास फैलिदै
- कृषि टि.भी.
- ३ साल अघि
- २७ पटक पढिएको

कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो । उक्त फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई असर पुर्याउन सक्ने कृषिविद्हरुले चिन्ता व्यक्त गरेका छन । त्यसको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको जानकारहरुले बताएका छन । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ ।


भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा त्यसको बथान प्रवेश गरिसकेको कृषिविद्हरुले बताएका छन । भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल भएकाले त्यसको प्रत्यक्ष प्रभाव पर्ने उनीहरुले आँकलन गरेका छन । नेपालमा पश्चिमी दिशाबाट फट्यांग्रा भित्रिन लागेको र त्यसले सुदूरपश्चिमका जिल्लाहरुसँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीलाई त्यसले ठूलो नोक्सानी पार्न सक्ने विज्ञहरूको भनाइ छ । सोही फट्यांग्राले मुख्यगरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (ँब्इे)ले चेतावनी दिएको छ । एफएओका अनुसार १ वर्गकिलोमिटरमा फैलिएर बस्ने एउटा बथानमा ४ देखि ८ करोड फट्यांग्रा हुनेछन । एक दिनमा फट्यांग्रा १ सय ३० किमिसम्म बथान बनाएर हिँड्ने र एउटा बथानले एक दिनमा ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन ।

