- Loading...
मोरङमा अमेरिकी फौजी कीराको प्रकोप बढ्दा सयौं विघामा किसानले लगाएको मकै बाली नष्ट
- कृषि टि.भी.
- ३ साल अघि
- २० पटक पढिएको

मोरङमा अमेरिकी फौजी कीराको प्रकोप बढ्दा सयौं विघामा किसानले लगाएको मकै नष्ट भएको छ । धान तथा गहुँ बालीपछि किसानको मुख्य रोजाइमा पर्ने मकैबालीमा उक्त कीरा लागेर क्षति पुर्याउन थालेपछि किसानहरू चिन्तित भएका छन् । मोरङको बेलबारी क्षेत्रमा लगाएको मकैमा कीराले क्षति पुर्याएपछि विषादी लगाउँदासमेत नियन्त्रणमा नआएको स्थानीयको गुनासो छ ।


बेलबारी–४ इमानसिहं चौकका किसान जसमणि राईका अनुसार मकै बालीमा दुई पटक विषादी लगाउँदा पनि कीरा मरेका छैनन । त्यस क्षेत्रमा केही दिनको अन्तरालमै सयौं बिघाको मकै नष्ट बनाएको किसानहरुको भनाई छ । मोरङको बेलबारी, लेटाङ, उर्लाबारी, ग्रामथान, रंगेलीलगायतका स्थानमा फौजी कीराको प्रकोप बढेको छ । त्यस्तै तराईमा मात्र नभई पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरलगायतका जिल्लामा पनि कीराको प्रकोप बढेको सोही क्षेत्रका किसानको भनाई छ । खोटाङ दिप्रुङका किसान रेवन्त श्रेष्ठका अनुसार एउटै पनि पात नराखी कीराले खाएको छ । श्रेष्ठका अनुसार उक्त कीराले एकै रातमा मकै नष्ट बनाएको छ । यता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका किट वैज्ञानिक किशोर भण्डारीले पूर्वी नेपालका विभिन्न ठाउँमा मकै बालीमा कीराले नोक्सानी गरिरहेको बताउनुभएको छ । किसानहरूका अनुसार दिनमा भन्दा रातमा बढी कीराले नोक्सानी गर्ने गरेको छ ।।

