- Loading...
कृषि क्षेत्रमा बजेट बढाउन किसानहरुको माग
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

लमजुङको मस्र्याङ्दी गाउँपालिकाका किसानहरुले कृषि क्षेत्रमा बजेट बढाउन माग गरेका छन् । कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन पनि बढ्ने भएकाले गाउँपालिकालाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउनुपर्ने किसानहरुको सुझाव छ । आगामी आर्थिक वर्ष पालिकाको पुँजीगत बजेटको ३० प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउन माग गरिएको पालिकास्तरीय कृषि सञ्जालका अध्यक्ष नारायण तामाङले बताउनुभयो ।


चालू आर्थिक वर्षमा पालिकाले कृषि क्षेत्रमा एक करोड ५० लाख रुपैयाँ छुट्टाएको थियो । आगामी आर्थिक वर्षमा पाँच करोड भन्दा बढी बजेट छुट्टाउन सुझाव दिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र खाद्यान्न, तरकारी, पशुपालन तथा मौरीलगायतका क्षेत्रमा उत्पादन वृद्धि गर्ने गरी काम गर्न आफूहरु तयार रहेको बताउनु भएको छ । यस्तै अहिलेको संकट लम्बिन सक्ने भएकाले कृषिलाई थप प्राथमिक्ता दिएर बजेट ल्याउने पनि अध्यक्ष गुरुङको भनाई छ । यता गाउँपालिकाले यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सुरू गरेको छ । सामाजिक दूरी कायम गरी उक्त कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पालिकाभित्रका गरिब तथा विपन्न परिवारका सदस्यलाई रोजगारीमा खटाउने गरी कार्यक्रम सुरू भएको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

