- Loading...
लकडाउन लम्बिएसँगै तरबुजा व्यवसायीलाई बजारको अभाव
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

विगत एक दशकयता तरबुजा खेती गरेर परिवारको दैनिकी चलाउदै आएका किसानलाई यसवर्ष सास्ती थपिएको छ । कोरोना भाइरसको जोखिमबाट बच्न तथा महामारी न्युनीकरणका लागि भन्दै सरकारले गत चैत्र ११ गतेयता मुलुकभर लकडाउन गरेको छ । तर त्यसको प्रत्यक्ष मारमा बाँकेका सर्वसाधरण किसान परेका छन ।


बाँकेको डुडवा गाउँपालिका २ राप्ती बगरका स्थानीय किसान नाशिबु खानको कृषि व्यवसायमा लकडाउनले समस्या थपेको छ । किसान खानले १० विगाहा जमिनमा तरबुजा खेती गरेर हरेक बर्ष ६० देखि ७० हजार रुपैयाँ कमाई गर्दै आउनुभएको थियो । तर यसबर्ष अहिलेसम्म ५ हजार रुपैंयाको मात्र बिक्रि भएको उहाँले बताउनुभयो । विगत १० बर्षदेखि सोही खेती गर्दै आएपनि अहिलेसम्म कुनै निकायबाट त्यसको अनुगमन तथा सहयोग नमिलेको किसान खानको भनाई छ । सोही बगरमा विगत १५ बर्षयता तरबुजाकै खेती गरेर बार्षिक १ लाख ५० हजारसम्म आम्दानी गरेको अर्का किसान सुकै केवतले बताउनुभयो । तरबुजाकै आम्दानीबाट पारिवारिक खर्च चलाउदै आउनु भएका केवतलाई पनि खानलाई जस्तै समस्या भएको छ । अघिल्लो बर्षको यस सिजनमा १ लाखसम्म बिक्रि गरी सकेको उहाँले स्मरण गर्नुभयो । तर यसबर्ष बेमौसमी झरीले उत्पादन हुन सकेन । भएको उत्पादन पनि लकडाउनले बिक्रि नभएको उहाँको गुनासो छ । यस्तै २० विगाहा जमिनमा तरबुजा खेती गरेर हरेक बर्ष २ लाखसम्म आम्दानी गर्दै आएको सोही क्षेत्रका किसान बाजे कोरीको अनुभव छ । तर यसबर्ष भने अहिलेसम्म एक रुपैँयाको पनि बिक्रि नभएको उहाँले बताउनुभयो । उनी विगत १५ बर्षदेखि तरबुजा खेती गर्दै आउनु भएका हुन । यस अघिका बर्षहरुमा कुनै पनि नोक्सानी व्यहोर्न नपरेको उहाँको भनाई छ । तर खान, केवत र कोरी कृषि क्षेत्रमा समस्या भोगेका एउटा नमुना पात्र मात्रै हुन । मुलुकभरका व्यवसायिक कृषि पेशाका उद्यमीहरुसँग त्यस्ता लाखौ समस्या छन । जहाँ सरकारको नजर पर्न सकेको छैन । त्यतातिर पनि सरकारको एक पटक ध्यान जानु जरुरी छ ।

