- Loading...
गोदाममै रासयनिक मल सकिदै मुलुकभरका किसानलाई चिन्ता
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

प्रत्येक वर्षझैं यसवर्ष पनि रासायनिक मल अभाव देखिएको छ । सरकारले यसअघि बर्खे बालीका लागि पर्याप्त मल रहेको दाबी गरे पनि धान रोप्ने समय नजिकिँदै गर्दा मौज्दात मल सकिन लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार जेठ, असार र साउनमा युरिया मल प्रतिमहिना औसत २५ देखि ३५ हजार टन आबश्यक छ । डीएपी पनि मासिक २० देखि २५ हजार आवश्यक छ । तर जेठ १८ अघिको मौज्दात डीएपी २० हजार र युरिया १५ हजार टन मात्रै छ । यता मल चाहिने समयमा भने मौज्दात घट्दै गएको छ ।


मन्त्रालयका कृषि सामाग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ कृषि प्रसार अधिकृत शिरीष पुनका अनुसार यतिबेला सहकारी कम्पनीहरुबाट मलको अत्यधिक माग छ । तर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा रहेको मलले अबको एक हप्तालाई मात्रै पुग्ने बताइएको छ । बर्खे बालीका लागि खरिद गरिएको मल भारतको गुजरात र कोलकातामा रोकिएपछि नेपालमा समस्या भएको हो । लकडाउनका कारण श्रमिक अभावले दुई महिनादेखि मल रोकिएको सम्बन्धित क्षेत्रका अधिकारीहरुले बताएका छन । कोलकातामा २५ हजार टन डीएपी र गुजरातमा २१ हजार ५ सय टन युरिया रोकिएको छ । उक्त मल गत अप्रिलबाट मजदुर अभावकै कारण रोकिएको बताइएको छ ।

