- Loading...
सलह फट्यांग्राको संकट तत्काललाई टर्दै
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको

नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ । मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार उक्त किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल त्यसको प्रवेश नहुने देखिएको छ ।


सलह फट्यांग्राको प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा त्यसको प्रवेश तत्कालका लागि टरेको हो । मनसुनी वर्षा सुरु भएसँगै नेपालमा उक्त फट्यांग्राको प्रवेश रोकिएको प्रमुख हुमागाईंले जानकारी दिनु भएको छ । सोही फट्यांग्राको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको बताइएको छ । भारतको दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, महाराष्ट्र, झासीलगायत स्थानमा त्यसको बथान प्रवेश गरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी सीमाबाट छिर्ने सरकारले पूर्वअनुमान गरेको थियो । तर पछिल्लो समय सुरु भएको मनसुनी वर्षा र सलहको बथान उत्तरबाट दक्षिणतर्फ आउने क्रममा स–साना टुक्रामा विभाजित भएर भारततर्फ मोडिएकाले नेपालमा तत्काल आउने सम्भावना टरेको हो ।

