
- Loading...
किसानका खातामा १०÷१० हजार रुपैयाँ नगद अनुदान दिने प्रदेश २ सरकारको घोषणा
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको

प्रदेश २ सरकारले किसानका खातामा १०÷१० हजार रुपैयाँ नगद अनुदान दिने भएको छ । मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत किसानलाई बीउ, मल र सिँचाइमा सघाउन आगामी आर्थिक वर्षको प्रथम चौमासिकदेखि खातामा नगद पठाइने भएको छ ।


प्रदेश प्रमुख तिलक परियारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा त्यस्ता परियोजना समेटिएको बताइएको छ । उक्त योजना अन्तर्गत १० कठ्ठासम्म जग्गा भएका र आफंै कृषि व्यवसाय गर्ने किसानलाई समेटिने प्रदेश प्रमुख परियारले जानकारी दिनुभयो । कोरोना महाव्याधिको संकटका बीच ल्याइएको नीति तथा कार्यक्रमले स्वास्थ्य पूर्वाधार सुधार र कृषिलाई जोड दिएको छ । जनकपुर प्रादेशिक अस्पताललाई ५ सय शैयासहितको बनाएर स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने भएको छ । प्रदेश प्रमुख परियारले उपचार सेवा सुदृढीकरणका लागि जोड दिइएका योजनासहित सरकारको प्रथम पञ्चवर्षीय योजना र मध्यकालीन खर्च संरचनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । महामारीले जनस्वास्थ्यमा परेका असर कम गर्न लगानी दोब्बर गरी उपचारका लागि पूर्वाधार र आवश्यक स्वास्थ्य सामाग्रीहरू ल्याउने कार्यक्रममा जोड दिएको छ । महामारीकै कारण रोजगारी गुमाउनेहरुका लागि युवा स्वरोजगार तथा उद्यम विकास कार्यक्रम सञ्चालन गरिने र श्रमिकलाई खाद्यान्नसहित राहत उपलब्ध गराउने कार्यक्रम समेटिएको छ ।

