- Loading...
साना किसानलाई निर्व्याजी रुपमा ऋण दिने प्रदेश सरकारको तयारी
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

बागमती प्रदेश सरकारले यसवर्षबाट साना किसानलाई निर्व्याजी रुपमा ऋण दिने भएको छ । यसअघि सरकारले वितरण गर्ने अनुदान तथा सहुलियत ऋण टाठाबाठाले मात्र उपभोग गरेको गुनासो आइरहेको छ । प्रदेश सरकारले किसानलाई ब्याज नै नलाग्ने गरी ऋण दिन लागेको भने सम्भवतः मुलुकमा पहिलोपटक हो ।


यसअघि सहुलियत दरको कर्जा दिँदै आए पनि किसानको पहुँचमा नपुगेको चौतर्फी गुनासो छ । यस्तै साना किसानलाई बिना ब्याजको ऋण लगानी गर्न बजेटको व्यवस्था गरिएको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सहुलियत कर्जामा किसानको पहुँच नपुगेपछि निब्र्याजी वा न्यून ब्याजमा ऋण दिन लागिएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताउनुभयो । सचिव काकीका अनुसार साना किसानलाई एक लाख रुपैयाँसम्म निव्र्याजी ऋण दिने तयारी भएको छ । त्यस्तै मन्त्रालयले एक लाखभन्दा माथि १० लाख रुपैयाँसम्मको ऋण तीन प्रतिशत ब्याजदरमा दिने योजना बनाएको छ । उक्त कार्यक्रमका लागि प्रदेश अर्थ मन्त्रालयले सहमति जनाएसँगै प्रदेश कृषि मन्त्रालयलाई प्राप्त सिलिङबाट बजेट सुनिश्चित गरिएको छ । कृषि ज्ञान केन्द्रको सिफारिसमा साना किसान सहकारी बैंक र कृषि विकास बैंकमार्फत ऋण दिने व्यवस्था मिलाएको सचिव कार्कीले जानकारी दिनुभयो । प्रदेशले युवालाई कृषि उद्यममा आकर्षित गर्न निःशुल्क तथा सहुलियत कृषि ऋण दिन लागेको समेत बताइएको छ ।

