- Loading...
तनहुँको बाँझो जमिनमा व्यवसायिक रुपमा गोलभेँडा तथा अकबरे खुर्सानी खेती
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

तनहुँको व्यास नगरपालिका–६ कटुजे, सिसाघाटमा स्थानीय सात जनाले व्यवसायिक रुपमा गोलभेँडा तथा अकबरे खुर्सानी खेतीको शुरु गरेका छन् । इश्वरी, रामचन्द्र, सङ्गम र उत्तमप्रसाद नागिलासहित धुव्रसिंह ठकुरी, बुद्धि सुनार र बुद्धिवंशी ठकुरीले संयुक्त रुपमा खेती गर्नुभएको हो ।


कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको सदुपयोग गर्दै प्रतिव्यक्ति एक लाख सङ्कलन गरी सात लाख रुपैयाँको लागतमा खेती शुरु गरेको लगानीकर्तासमेत रहनुभएका इश्वरी नागिलाले जानकारी दिनुभयो । सात रोपनी जमिनमा गोलभेँडा र चार रोपनीमा अकबरे खुर्सानीको खेती गर्न बेर्ना र टनेल तयार भइसकेको उहाँले जानकारी दिनुभयो । सामूहिक खेती गर्ने उहाँहरू स्थानीय महेन्द्री गङ्गा कृषि सहकारी संस्थामा आबद्ध छन । सहकारीले आवश्यक तालिम प्रदान गर्ने तथा सरकारबाट प्राप्त विभिन्न अनुदानको लागि पहलकदमी गर्ने विश्वास दिलाएपछि सामूहिक खेतीमा लागेको उहाँहरूको भनाइ छ । उत्पादित तरकारी सदरमुकाम दमौली तथा नजिकका सहरमा लगेर बिक्री गर्ने उनीहरूको योजना छ । वार्षिक रुपमा १० लाख रुपैयाँको टमाटर र १२ लाख रुपैयाँको खुर्सानी उत्पादन गरी बिक्री गर्ने योजना बनाएको धुव्रसिंह ठकुरीले बताउनुयो । स्थानीय बलबहादुर श्रेष्ठको बाँझो रहेको जमिनलाई वार्षिक २० हजार भाडा दिने गरी ५वर्षलाई सम्झौता गरेको बताइएको छ । यतिबेला उनीहरूले गोलभेँडा खेतीको लागि १४ वटा टनेल निर्माण गरिसकेका छन् ।

