- Loading...
स्याङ्जाको वालिङ र गल्याङ नगरपालिका क्षेत्रमा फौजी कीराको प्रकोप बढ्दै
- कृषि टि.भी.
- ३ साल अघि
- २७ पटक पढिएको

मकैबालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएपछि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका किसान चिन्तित बनेका छन् । मकैको गुवा र पात कीराले काटेर सखाप पारेपछि किसान त्यसको नियन्त्रण र रोकथामका उपायको खोजीमा लागिपरेका छन् ।


वालिङ नगरपालिका–१० का किसान शङ्कर विकले खेतबारीमा लगाएको मकै कीराले काटेर सखाप पारेको जानकारी दिनुभएको छ । त्यस क्षेत्रमा पहिलोपटक उक्त प्रकोप देखापरेको किसान बिकको भनाई छ । स्थानीय किसानका अनुसार सोही किराले दिनमा भन्दा रातमा बढी बाली नष्ट गर्ने गरेको छ । यस्तै वालिङ–१० कै अर्की किसान कोपिला विकको पनि गुनासो उस्तै छ । दुःख गरी लगाएको खेती फल लाग्ने बेलामा कीराले सखाप पारेको छ । उनीहरुका अनुसार खेती लगाउँदा भएको खर्चसमेत नउठ्ने अवस्था आएको छ । यता कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिग्राम अधिकारीले भने जिल्लाका ११ वटै स्थानीय तहमा उक्त प्रकोप रहेको र त्यसको रोकथामका लागि सुरक्षित विषादी वितरण गरिएको बताउनुभयो । त्यस्तै स्थानीय तहका कृषि शाखा प्रमुखहरुसँग सोही प्रकोपबारे जुममार्फत छलफल चलाइएको भएपनि लकडाउनका कारण विषादी आयात गर्न नपाउँदा समस्या भएको प्रमुख अधिकारीको भनाई छ ।

