- Loading...
सिन्धुलीमा पहिलोपटक जुनारको चक्लाबन्दी खेती सुरु
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका दुई वडामा पहिलोपटक जुनारको चक्लाबन्दी खेती सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुनार सुपर जोन कार्यक्रम र स्थानीय मिलेर चक्लाबन्दी खेती सुरु गरेका हुन् । गोलन्जोर गाउँपालिका–५ नयाँखर्क र वार्ड न.४ को तीनकन्या माझकुभिन्डेको खाली जमिनमा १२ हजार जुनारका बिरुवा रोपिएका छन् ।


जीविकोपार्जन जुनार उत्पादन कृषि सहकारी संस्थाले, जुनार सुपरजोन कार्यक्रमको समेत आर्थिक सहयोगमा २० हेक्टरमा ६ हजार बिरुवा रोपेर खेती सुरु गरेको हो । जुनारको पकेट क्षेत्र बनाई खेती प्रणालीमा सहज बनाउन नयाँ कार्यक्रम सुरु गरिएको सहकारीका अध्यक्ष तिलकबहादुर थापाले जानकारी दिनुभयो । यता सिन्धुलीको जुनार उपभोक्ताले रुचाएपछि त्यसको माग पनि दिनानुदिन बढ्दै गएको छ । तर उत्पादन भने वर्षेनी घट्दै गएकाले चक्लाबन्दीमा जोड दिइएको स्थानीयले बताएका छन । सुपरजोनको एउटा चक्लाबन्दीमा १० लाख लगानीमध्ये किसानको ५० प्रतिशत लगानीबाट खाल्डा खन्ने तथा मल हाल्नेलगायतका काम भइरहेको छ । सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, बासेश्वर, नाकाझोली, तीनकन्यामा गरी एक हजार हेक्टर छ । सिन्धुलीका २ हजार किसान सुपरजोन कार्यालयमा सूचीकृत छन् । गएको सिजनमा १ हजार ३ सय ४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट ८ हजार ८ सय ८१ मेट्रिकटन जुनार उत्पादन गरी उनीहरुले ३२ करोडभन्दा बढी आम्दानी गरेको जुनार सुपरजोन परियोजनाले जनाएको छ ।

