- Loading...
स्याङजामा ३ सय १० रोपनी खेतलाई चक्लाबन्दीमा रुपान्तरण
- कृषि टि.भी.
- ३ साल अघि
- २७ पटक पढिएको

स्याङजामा चक्लाबन्दीकै कारण विगतका वर्षहरुमा रहेको बाँझो जमिनमा खेती हुने भएको छ । कृषिमा यन्त्रीकरण र व्यवसायीकरणमार्फत उत्पादकत्व बढाई किसानको आर्थिकस्तर उकास्ने उद्देश्यले पुतलीबजारको गोठिङ् खेतमा गरिएको चक्लाबन्दीको काम सकिएको छ ।


गण्डकी प्रदेश सरकारले जग्गा चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र त्यस्ता जमीनमा सिँचाई, प्रविधि तथा उन्नत बीउवीजनका लागि सहयोग गर्ने नीति लिएपछि किसान त्यसतर्फ थप आकर्षित भएको बताइएको छ । पुतलीबजार नगरपालिका ४ स्थित गोठिङ्मा स्वामित्व रहेको एक सय २० जना किसानका ३ सय १० रोपनी खेतलाई चक्लाबन्दी गरिएको हो । पहिलो खेती असार १५ मा धान रोपेर सुरुवात गरिने भएको छ । प्रदेश स्तरीय धान दिवसमा र मुख्यमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । साना तथा ठूला गह्रालाई मिलाएर चक्लाबन्दी बनाउन स्थानीय किसानले सहमत जनाएपछि गत वर्षदेखि उक्त कार्यक्रमको प्रक्रिया सुरु भएको वडाअध्यक्ष ओम खडकाले जानकारी दिनुभयो । वर्षमा ३ बाली उत्पादन गर्ने, १० वर्षसम्म कृषि प्रयोजन बाहेकका भौतिक संरचना बनाउन नपाइने, न्यूनतम ५वर्ष सामूहिक खेती गर्नुपर्ने, बेचबिखन गर्नुपरेमा खरिद गर्नेले सोही सर्त अनुसार कबुल गर्नुपर्ने लगायतका नियम पालना गर्नुपर्ने अध्यक्ष खड्काले बताउनुभयो । उक्त परियोजनाका लागि प्रदेश सरकारले प्रतिरोपनी १० हजारका दरले ३० लाख १० हजार रकम उपलब्ध गराए पनि भौगोलिक अवस्थाका कारण ६० लाख खर्च भएको अध्यक्ष खड्काको भनाइ छ ।

