- Loading...
नारायणी लिफ्ट सिँचाइ आयोजनाले असारको तेस्रो साताबाट नहरमा पानी छाड्ने तयारी
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको

केही वर्षयता आकाशे पानीको भर पर्ने पश्चिम चितवनका किसानले समयमै धान रोप्न पाउने भएका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाले असारको तेस्रो साताबाट नहरमा पानी छाड्ने तयारी गरेको छ । उक्त नहर पश्चिम चितवनमा पानीको एक मात्रै स्रोत रहेको बताइएको छ ।


लिफ्टको पानी नहरमा छाडेपछि मात्रै त्यस क्षेत्रका पोखरी, इनार तथा धारामा पानी आउने गरेको स्थानीयले बताएका छन् । धान रोपाईको समय नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाको अधिकांश कृषिभूमिमा सिँचाइ गर्ने लिफ्ट सञ्चालनको तयारी गरिएको छ । सोही लिफ्ट सञ्चालन गर्न लिफ्टिङ प्रणाली मर्मत तथा नहर सफा गर्ने काम तीव्र रुपमा अगाडि बढेको लिफ्ट अन्तर्गत ८ नम्बर शाखाका अध्यक्ष धर्म कार्कीले जानकारी दिनुभयो । लिफ्टको पानी नहरमा पठाउन नहरबाट फोहर झिक्ने तथा मर्मत सम्भारको काम अगाडि बढिरहेको उहाँको भनाइ छ । पश्चिम चितवनमा खोला तथा मुहानको पानी आउने अवस्था नरहेको बताए । यता पानीको स्रोत नभएकै कारण नारायणीबाट पानीलाई लिफ्ट गरेर सिँचाइको व्यवस्था सुरु गरेको नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले बताउनुभयो । उक्त सिँचाइ आयोजनाबाट महानगरको वडा ४ देखि ९ तथा ११, १२, १४ र १५ नं. वडामा गरी करिब ४ हजार हेक्टरमा सिँचाइ हुँदै आएको छ ।

