- Loading...
बर्दियाका किसान मलको बिना प्रयोग रोपाई गर्न बाध्य
- कृषि टि.भी.
- २ साल अघि
- २७ पटक पढिएको

धान खेतीका लागि आवश्यक रासायनिक मल नपाउदा बर्दियाका किसान मलको बिना प्रयोग रोपाई गर्न बाध्य भएका छन । देशकै अन्न भण्डारका रुपमा परिचित बर्दियामा खेतीका समयमा मलको अभावसँगै रोपाइँ गर्न थालेका छन् । वर्षा शुरु भएसंँगै धान रोपाइँका लागि किसानले डिएपी, पोटास र युरिया मलको खोजीमा भौँतारिए पनि अझैसम्म पाउन सकेका छैनन् । कोभिड –१९ का कारण भएको लामो बन्दाबन्दीले विभिन्न समस्या खेपेका किसान मलको अभावमा चिन्तित बनेका छन् ।


धानको बीउ राखेर मलको खोजीमा स्थानीय कृषि सहकारी, एग्रोभेटलगायत मल बिक्री केन्द्रमा प्रत्येक दिन धाए पनि पाउन नसकेको किसानहरुको गुनासो छ । यता गुलरिया नगरपालिका –२ का किसान कृष्णप्रसाद आचार्यले मल बिक्री केन्द्रमा प्रत्येक दिन धाउँदा पनि खाली हात फर्कनुुपरेको गुनासो गर्नुभयो । उहाँका अनुसार उत्पादन वृद्धिका लागि मल आवश्यक छ । तर रासायनिक मल पाउन सहज नभएको र पाइहाल्दा पनि महँगोमा किन्न बाध्य भएको जिल्लाका अधिकांश किसानहरुले बताएका छन् । जिल्लाका आठ पालिकामध्ये राजापुर र गेरुवा गाउँपालिकामा यतिखेर ८० प्रतिशत धान रोपाइँ सकिएको छ । राजापुर क्षेत्रमा सिँचाइको सहजता रहेका कारण अन्यत्रको भन्दा चाँडै रोपाइँ हुने गरेको छ । धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नपाउँदा त्यस क्षेत्रका अधिकांश किसानले मलविनै रोपाइँ गरिरहेका छन् ।

