- Loading...
प्रदेश २ र ५ का तराईका जिल्लाहरुमा सलहका बथान प्रवेश
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको

मुलुकको अन्न भण्डारका रूपमा रहेका प्रदेश २ र ५ का तराईका जिल्लाहरुमा सलहका बथान प्रवेश गरेको छ । बाली नष्ट गर्ने फट्यांग्राको हूल सर्लाही, बारा र पर्सामा शनिबार एकैसाथ देखिएको हो । सलह भेटिएलगत्तै प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राविधिकको टोली खटाएको छ । प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पामा पनि पसेको छ ।


शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तसहित देवदह क्षेत्रमा र दिउँसो बुटवल, मर्चवार तथा लुम्बिनी क्षेत्रमा देखिएको थियो । मध्याह्नसम्म छिटफुट्ट रुपमा देखिएको सलह दिउँसो साढे ३ बजेपछि समुहगत रुपमा आकाशमा उडेको देखिएको थियो । बुटवल क्षेत्रमा ठुलो समुहमा देखिएको फट्यांग्राको बथान साँझतिर बुटवलबाट पश्चिम र उत्तर दिशातर्फ लागेको प्रदेश ५ का कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले जानकारी दिनुभयो । यस्तै उत्तरतिर गएका सलह पहाडतिर पुग्ने वा फर्कन्छन् भन्नेमा विज्ञहरू नै अलमल छन् । सोही जिल्लाहरुसहित चित्तवन, सिन्धुली र काठमाण्डौमासमेत सलह पुगेको बताइएको छ । यता धान रोप्ने समय भएकाले तराईका अधिकांश खेत खाली हुँदा धेरै कीरा आकाशमा मडारिएको हुनसक्ने विज्ञहरूको अनुमान छ । तर रूपन्देहीको देवदह, तिलोत्तमा र रोहिणीलगायत क्षेत्रका मकैबारी र तरकारी बारीमा भने सलह अड्किएका छन् ।

