- Loading...
४७ वर्ष पुरानो धानको बीउ प्रयोग तराईका अधिकांश किसान
- कृषि टि.भी.
- ३ साल अघि
- ३१ पटक पढिएको

सरकारले उन्नत जातको बीउ प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्ने बताइरहँदा किसानहरुले भने पुरानै बिउ लगाउदै आएका छन । तराईका अधिकांश जिल्लामा अहिले पनि ४७ वर्ष पुरानो धानको बीउ प्रयोग गरिरहेका छन । तराई क्षेत्रमा लगाइने मन्सुली जातको धान ४७ वर्ष पुरानो भएको धान विज्ञहरुले बताएका छन । उक्त धान कृषि अनुसन्धान परिषद्ले २०३० सालमा उन्मोचन गरी सिफारिस गरेको थियो ।


उत्पादन धेरै हुने तराईमा अहिले पनि मन्सुली नै लगाइरहेको नार्कका वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो । उहाँका अनुसार उन्नत जातका नयाँ धान सिफारिस भएपनि किसानसम्म भने पुग्न सकेको छैन । किसानले अहिले पनि साँढे ४ दशक पहिले सिफारिस गरिएको बीउ लगाइरहेको पाइएको छ् । उन्नत जातको बीउ प्रयोग गरे १५ देखि २० प्रतिशत उत्पादन बढ्ने विज्ञहरूको भनाई छ । तर पुरानै बीउ प्रतिस्थापन हुन नसक्दा उत्पादनमा पनि कमी हुँदै आएको छ । यता धान उत्पादनमा बृद्धि गर्न नसक्दा वर्षेनी करिब ३० अर्ब रुपैयाँको चामल विदेशबाटै आयात भइरहेको छ । तराईमा मात्र नभई मध्यपहाडी क्षेत्रलाई लक्षित गरी २०४४ सालमा नार्कले सिफारिस गरेको खुमल–४ जातको धान पनि अहिले प्रयोगमा रहेको छ । सीमित ठाउँमा नयाँ हाइब्रिड जातका धान लगाउन थालिएको भएपनि अधिकांश किसानले पुरानै बीउ प्रयोग गरिरहेका छन् । त्यससँगै करिब ३५ वर्षपहिले सिफारिस गरिएको सावित्री धान पनि प्रयोग गरिदै आएको छ ।

