- Loading...
सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सम्पन्न
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

सुदूरपश्चिम प्रदेशको कुल खेतीयोग्य जमिनमध्ये आधा क्षेत्रफलमा रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय दिपायलले असार १५ गतेसम्ममा ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिएको छ । विगत वर्षको तुलनामा यसवर्षको रोपाई प्रतिशत निकै उत्साहजनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ६ सय चार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा प्रदेशमा ९० हजार १ सय ५६ हेक्टरमा रोपाइँ भइसकेको छ ।


प्रदेशमा सबैभन्दा बढी रोपाइँ अछाममा र कम डोटीमा भएको निर्देशनालयले बताएको छ । अछाममा १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाइँ गरिँदै आएकोमा ९ हजार ९ सय ४८ हेक्टरमा रोपाइँ सकिएको छ । यता डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ३ हजार ८ सय १४ हेक्टरमा रोपाइँ भएको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिनुभयो । धानबालीको मुख्य भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४७ दशमलब ४९ प्रतिशत र कञ्चनपुरमा ५२ दशमलब ९७ प्रतिशतमा रोपाइँ भएको छ । कैलालीमा ७१ हजार सात सय १५ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ३४ हजार ५७ हेक्टरमा रोपाइँ भएको हो । यस्तै कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा २५ हजार छ सय २४ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशको डडेल्धुरा र दार्चुलामा पनि ५० प्रतिशतभन्दा कम रोपाइँ भएको छ ।

