
- Loading...
कृषि बाली उत्पादनमा सुधार नहुँदा अझै परनिर्भर
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

मुलुकको प्रमुख कृषि बाली उत्पादनमा सुधार नआउँदा परनिर्भरता बढ्दै गएको छ । आत्मनिर्भर हुन ६७ लाखदेखि ७० लाख मेट्रिकटनसम्म धान उत्पादन हुनुपर्ने सरकारको निष्कर्ष छ । तर सरकारले मुलुकको धानखेती हुने क्षेत्रफलमा आत्मनिर्भर हुने गरी उत्पादकत्व बढाउन सकेका छैनन ।


सोमबार धान दिवस मनाउने क्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले उत्पादन वृद्धिका लागि सबै पक्षबाट पहल गर्न आग्रह गर्नुभएको छ । हाइब्रिड र उन्नत जातका बिउ प्रयोग गरी उत्पादकत्व बढाएर मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुपर्ने मन्त्रालयको ठहर छ । यस्तै आगामी वर्षदेखि लागू हुने गरी धान उत्पादन बढाउने विभिन्न कार्यक्रम राखिएको सचिव भारीले जानकारी दिनुभयो । यसवर्ष मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उत्पादन बढी हुने १५ जिल्लामा ३५ करोड अनुदान वितरण गर्दै उत्पादन क्षमतामा सुधार ल्याउने योजना राखिएको थियो । तर पनि खासै उत्पादन वृद्धि नहुने अधिकारीहरुले बताएका छन । समयमै मनसुन सुरु भएपनि मल, बिउको सहज उपलब्धता नहुँदा तराईका किसानले उत्साहपूर्वक रोपाइँ गरेका छैनन । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले १० असारसम्ममा मुलुकभर २० प्रतिशत रोपाइँ सकिएको जानकारी दिनुभयो । यसवर्ष मनसुन राम्रो भएकाले विगतको तुलनामा केही क्षेत्रमा रोपाइँ उत्साहजनक देखिएको मन्त्रालयको दावी छ । तर मल अभावमै रोपाई भएकाले धानको बोट सप्रिन नसक्ने र बाली लाग्न कठिन हुने देखिएको छ ।

