- Loading...
बागमती प्रदेश धान उत्पादनमा आत्मनिर्भरता तर्फ बढ्दै
- कृषि टि.भी.
- ३ साल अघि
- ३४ पटक पढिएको

बाग्मती प्रदेशमा ९७ प्रतिशत रोपाइँ सकिएसँगै धान उत्पादनमा आत्मनिर्भर हुने संकेत देखिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार बागमती प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफल मध्ये श्रावण २० गतेसम्म १ लाख २९ हजार ८ सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । यद्यपि यो क्षेत्रफल बढ्ने अनुमान मन्त्रालयको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशमा १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस आर्थिक वर्षमा, आर्थिक वर्ष २०७५÷७६ भन्दा १२ दशमलब छ ६ प्रतिशत बढी क्षेत्रफलमा धान रोपाई सम्पन्न भइसकेको छ । समयमा नै मनसुन सुरु हुनु, कोभिड १९ को कारणवाट विदेशवाट फर्किएका र स्वदेशमा रहेका मानिसहरु कृषि पेशामा लाग्नु, गाँउ गाँउमा वसोवास बढ्नु, स्थानीय सरकारको कृषिमा शक्रियता हुनुले पनि धानखेती गरिने क्षेत्रफल बढेको हो । साथै, बाझो जमिनमा खेतिको सुरुवात हुनु, प्रदेश सरकारको खाद्यान्नमा आत्मनिर्भर हुने अभियान लगायत प्रदेश सरकारको कार्यक्रमहरुवाट सिञ्चित क्षेत्र विस्तार हुनु, कृषिमा यान्त्रिकीकरण आदि कारणले गर्दा धान खेती गरिने क्षेत्रफलमा वृद्धि भएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा प्रदेशमा गत वर्षको तुलनामा करिव ७२ हजार मे.टन धान बढी उत्पादन क्षेत्र विस्तारको कारणवाट मात्र हुने अनुमान मन्त्रालयले गरेको छ । कुल कृषि ग्राहस्थ उत्पादनमा धानको योगदान करिव २० प्रतिशत छ । प्रदेशले धान उत्पादनलाई महत्वका साथ लिएको मन्त्रालयले जनाएको छ । नेपालमा धेरै मात्रामा चामल आयात हुँदै आएको छ ।
नेपालका सातै प्रदेशमा धानको क्षेत्रफल तथा उत्पादनमा वृद्धि गर्न सके देशलाई आवश्यक करिव ६१ लाख मेट्रिक टन धान स्वदेशमा नै उत्पादन गर्न सकिने छ । मन्त्रालयका अनुसार प्रदेशको सबैभन्दा बढी धान खेती हुने चितवन जिल्लामा ९५ प्रतिशत रोपाई सकिएको छ ।
यसैगरी, मकवानपुर जिल्लामा ९५ प्रतिशत, नुवाकोटमा १०० प्रतिशत, ललितपुर १०० प्रतिशत, भक्तपुरमा १०० प्रतिशत र काठमाण्डौंमा १०० प्रतिशत त्यस्तै, काभ्रेमा १०० प्रतिशत, रामेछापमा ८२ प्रतिशत, सिन्धुलीमा ९६ र धादिङ्गमा १०० प्रतिशत रोपाई सकिएको छ । प्रदेशको उच्च पहाडी जिल्लाहरु दोलखा, रसुवा र सिन्धुपाल्चोकमा क्रमश ः ९६, ९६ र १०० प्रतिशत धान रोपाई सकिएको मन्त्रालयले जनाएको छ ।

