
- Loading...
पशुमा नयाँ भाइरस लम्पी स्किन संक्रमण, सचेत बन्न कृषकहरुलाई आग्रह
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको

कोरोना भाइरसले विश्वनै आक्रान्त भैरहेको अवस्थामा पशुमा पनि नयाँ भाइरस देखिन थालेको छ । नेपालका विभिन्न जिल्लाका गाई र भैंसीमा लम्पी स्किन नामको भाइरस फेला परेको हो ।

लम्पी स्किन रोग विशेषगरी गाई र भैंसीमा देखिने काप्री पक्स बिषाणु समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो । पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ देखा परेको यो रोग सन् २०१२ जुलाईमा बगलादेश र चिन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । पछिलो समय नेपालमा पनि यो रोग भित्रिएको पुष्टि भएको छ । केन्द्रीय पशु रोग अन्वेषण शाखामा गरिएको परिक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टी भएको हो । पूर्वी नेपालको विभिन्न जिल्ला हुदै प्रदेश १, २ र बागमतीका केही जिल्लाका गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको छ ।यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु समेत हुन्छ । हाल सम्म १२ वटा गाईहरु यो रोगका कारण मरेका छन् । देशका अन्य स्थानहरूमा समेत गाईहरूमा यो रोगसँग मिल्दो लक्षणहरू देखापरेको सूचना प्राप्त भइरहेकोमा रोगको अनुसन्धान तथा आवश्यक नमूना संकलन गरी परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाउन भेटेरिनरी प्रयोगशालाहरूलाई निर्देशन दिइसकिएको पुशुसेवा बिभागका उप महानिर्देशक सम्झना कुवर काफ्लेले बताउनुभयो ।
दूध उत्पादनमा निकै नै नकारात्मक असर पार्न सक्ने यो रोग फैलिदै जाँदा दूधमा आत्मनिर्भर हुने लक्ष्यमा ठेस पुग्ने मात्र नभई मुख्यतया साना किसानको जीविकोपार्जन, दुग्ध क्षेत्रबाट प्राप्त रोजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ ।यसका साथै रोग लागेर निको भएका पशुको छालामा हुने परिवर्तनका कारण नेपालबाट हुने गरेको छाला निकासीमा समेत नकारात्मक असर पर्न सक्छ ।
यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत सर्दछ । रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्छ । यस रोगविरूद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाइभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको लडाइँको मुख्य हतियार हो ।।

