- Loading...
महँगोमा मल किन्न बाध्य किसान, जिम्मेवारी निकायको उदासिनता
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको

सरकारी अनुदानको रसायनिक मल नपाए पछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ । रौतहटका किसानलाई अनुदानको मल नहुँदा महँगोमा मल किन्नु पर्ने बाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता छ ।

धानमा गाँज लाग्ने बेला युरिया मलको चरम अभाव भएपछि रौतहटका किसान अहिले समस्यामा परेका छन् । एक बोरा युरिया मलका लागि एक हजार पाँच सय सम्म मूल्य तिर्नुपरेको छ । भारतमा प्रतिबोरा छ सय रुपैयाँ मूल्य छ । सीमावर्ती भारतीय बजारबाट तस्करी गरेर ल्याएको मल प्रहरीले नियन्त्रणमा लिन थालेपछि किसानले चर्को मूल्यमा मलखाद खरिद गर्न बाध्य भएका छन् । राज्यले आपूर्ति गर्न नसकेर भारतीय सीमावर्ती बजारबाट खरिद गरेर किसानले ल्याउँदा प्रहरीले तस्करी भनेर समात्न थालेपछि मलको मूल्य आकाशिएको किसानहरु बताउँछन् । अनुदानको मलखाद सहकारीमार्फत व्यापारीको हातमा जाने र किसानलाई चाहिने मलखाद सहज आपूर्ति नहुँदा अधिकांश किसान भारतीय मलखादमाथि नै निर्भर रहनु परेको छ ।
सीमावर्ती भारतीय बजारमा छ सयमा एक बोरा पाउने भारतीय युुरिया मल हाल कटहरियालगायत नेपाली सीमावर्ती बजारमा रु एक हजार ७५० देखि एक हजार ८०० मा बिक्री भइरहेको छ । त्यसैगरी सीमावर्ती भारतीय बजारमा एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँमा पाउने भारतीय पारस कम्पनीको डिएपी मल सीमावर्ती नेपालको ग्रामीण बजारमा तीन हजार ५०० प्रतिबोरा बिक्री भइरहेको छ । प्रहरीले बलपूर्वक पटकपटक मलखाद तस्करीको भनेर पक्राउ गर्न थालेकै कारण रौतहटको भित्री बजारमा मलको मूल्य आकाशिएको हो । किसानले धान रोपाइँ तथा गोडमेल गरेपछि खेतमा मलाखद छर्नुपर्ने हुन्छ । यसै समयमा महँगो दरमा भए पनि खरिद गर्नुुपर्ने बाध्यता भएको किसानले बताएका छन् ।
नेता र जनप्रतिनिधिले स्थानीय प्रशासनसँग मलखाद बारेमा गम्भीरताका साथ कुरो गरेमा समस्या समाधान हुने थियो । तर जिल्लाका कुनै नेता अथवा जनप्रतिनिधिले किसानको समस्या समाधान अर्थात् सहज रुपमा मलखाद आपूर्तिका लागि पहल नगर्दा चर्को मूल्य तिर्न बाध्य छन् । यता रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मलखादको सहज आपूर्तिका लागि पहल भइरहेको बताउँदै खेतीका लागि चाहिने मलखाद भारतीय सीमावर्ती बजारमा ल्याउँदा कुनै पनि हालतमा पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।।

