
- Loading...
यस बर्ष बढी क्षेत्रफलमा धान रोपाइँ
- कृषि टि.भी.
- २ साल अघि
- १० पटक पढिएको

यस वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै पानी पर्नु, मौसमको अनुकूलता र कोरोना भाइरसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित हुँदा धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । पानी समयमा पर्नु साथै पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशत बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ । मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोना भाइरसले निम्त्याएको बन्दाबन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ । बन्दाबन्दी भएका कारणले सहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको हो ।


