
- Loading...
कृषि अनुसन्धान निर्देशनालयले गर्यो वर्णशङ्कर धानको बीउ उत्पादन
- कृषि टि.भी.
- २ साल अघि
- १०२ पटक पढिएको


बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशंकर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको बताइएको छ ।

हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर ५ खजुराका निर्देशक जनमेजय त्रिपाठीले बताए ।
यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकवाट आयात हुँदै आएको हाइब्रिड धानको बीउको परिपूर्ति सहज रुपमा हुने र गुणस्तरहीन बीउबाट किसान ठगिने परम्पराको अन्त्य हुनेछ ।
नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समयअघि पहिलो पटक नेपालमै धानको हाइब्रिड जात विकास गरेको थियो । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएको उक्त जात राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ ।
खजुरामा यी दुवै हाइब्रिड धानको दुई हेक्टर जमीनमा दुई टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन शुरु गरिएको निर्देशनालयका बाली वैज्ञानिक रामदास चौधरीले जानकारी दिए । उनका अनुसार बीउ उत्पादन गर्दा आठ लाइन पोथी र बीचबीचमा दुई लाइन भालेलाई राखेर क्रस गरी निस्केको बच्चा बिरुवाका रुपमा हर्दिनाथ हाइब्रिडको नयाँ बीउ उत्पादन गरिन्छ । कम समयमा उत्पादकत्व क्षमता बढी भएका यी बीउ यसअघिको हर्दिनाथभन्दा फरक छ ।
यी दुवै धान तराई–मधेशका साथै समुद्र सतहदेखि ७०० देखि ९०० मिटर उचाइसम्मका लागि सिफारिश गरिएको छ । १२२ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड १ धान प्रतिहेक्टर ७ दशमलव ५ टन उत्पादन क्षमता छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड ३ धानको उत्पादन क्षमता प्रतिहेक्टर आठ टन रहेको निर्देशनालयले बताएको छ ।
नेपाली बजारमा उन्नत जातका धानको बीउ नपाइएका कारण नेपाली किसान भारतीय बीउप्रति निर्भर हुनुपरेको छ गुणस्तर परीक्षण नगरी भारतबाट जथाभावी ल्याइने बीउ नउम्रिएका कारण बेलाबेलामा कृषक ठगिने गरेका छन् ।

