- Loading...
४६ वर्षको अवधिमा ४७ जातका गहुँको अनुसन्धान
- कृषि टि.भी.
- २ साल अघि
- २५ पटक पढिएको


राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले स्थापनाको ४६ वर्षको अवधिमा ४७ जातका गहुँको अनुसन्धान गरेकोछ । ती मध्ये ४४ जातका गहुँको उत्पादन सुरू भइसकेको छ भने तीन वटा जातका गहुँ कार्यान्वयनको लागि कृषि मन्त्रालयमा सिफारिस गरिएका छन् । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका अनुसार आर्थिक बर्ष २०७६÷७७ मा तराई क्षेत्रमा प्रयोगका लागि ‘एनएल १३०७’, ‘एनएल १३२७’ र ‘एनएल १३६९’ गरी नयाँ तीन जातको गहुँ अनुसन्धान गरिएको थियो । ती जातका गहुँ कार्यान्वयनका लागि कृषि मन्त्रालयमा सिफारिस गरिएको छ । कार्यालयले गहुँको जातीय विकास, गहुँसँग सम्बन्धित प्रविधिको विकास, गहुँको स्रोत तथा बीउको विकासमा अनुसन्धान गर्दै आएको छ । तर कीरा र रोगको प्रकोपका कारण नयाँ विकास गरिएको गहुँको जात ८ र १० वर्षभन्दा लामो समय टिक्न सक्दैन । यसअघि अनुसन्धान गरी उत्पादनमा ल्याइएका त्रिवेणी, भाष्कर, लुम्बिनी, सिद्धार्थ लगायतका नयाँ जातको गहुँको उत्पादन राम्रो भए पनि १० वर्षमै यी जातको गहुँ विस्थापित गरिएको छ । नेपालमा सन् १९६० बाट गहुँ अनुसन्धान सुरू भएको थियो । नेपालमा करिब २० वटा अनुसन्धान कार्यालयले गहुँको मूल बीउ उत्पादन गर्दै आएका छन् । पछिल्लो समय गहुँमा पहेंलो र खैरो सिन्दुरे, डढुवा जस्ता रोग र लाइ, सलह, गवाँरो, फौजी, धमिरा जस्ता कीराहरूको प्रकोप बढिरहेका छन् । कार्यालयका अनुसार तराईमा १८, पहाडमा १२ र उच्च पहाडमा २ जातको गहुँको खेती हुन्छ ।।


