- Loading...
रुपन्देहीको तिलोत्तमा नगरपालिका समर्थन मूल्यमा किसानको धान खरिद गर्ने
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरूले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाको सहजीकरणमा संघीय सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा खरिद गर्न सहकारीहरू तयार भएका हुन् । संघीय सरकारले गत जेठमै धानको न्यूनतम् समर्थन मूल्य निर्धारण गरे पनि त्यो कार्यान्वयन नभएको पाइएपछि तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा सहजीकरण गरेको हो । साना किसान सहकारीमार्फत् धान खरिद गर्ने गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम् समर्थन मूल्यमा खरिद गरेका थिएनन् । नगरपालिकाले बोलाएको बैठकपछि तिलोत्तमाका ६ वटा साना किसान कृषि सहकारीहरु किसानको धान खरिद गर्ने आवश्यक तयारीमा जुट्न सहमत भएका हुन ्। नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापनलगायतका विषयमा छलफल गरेको थियो । किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ । धानको न्यूनतम् समर्थन मूल्य प्रभावकारी हुँदा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने नगरपालिकाले जनाएको छ । सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम् समर्थन मूल्यमा खरिद गर्नेछन्। त्यसभन्दा बढी चिस्यान भए किसानलाई तोकिएको मापदण्ड पूरा गर्न वा एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सक्नेछन् ।


