- Loading...
हुम्ला जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थाल्यो
- कृषि टि.भी.
- २ साल अघि
- २७ पटक पढिएको


हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ । विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ । गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्ष चीनसँगको सीमा नाका बन्द हुँदा खाद्य सङ्कट निम्तिने भएको हो । बर्सेनि चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी यो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट वितरण गरिने चामलको भर पर्नुपर्ने बताएका छन् । लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न शुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नुपर्ने बाध्यता छ । हिउँदको तीन महिना लागातार हिमपात हुने र हिमपातले बाटो बन्द हुने गर्दछ । लिमीका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भइसकेको र ठेकेदारले ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटले जनाएको छ । खाद्यान्न ढुवानीको जिम्मा सीता र तारा एयरले लिएका छन् ।।


