- Loading...
उमाशँकर कोहार माटोका भाडा, दियो, ढक्ना, खपरी बनाउन व्यस्त
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


दिपावलीमा नेपालीहरुको घरघरमा बालिने माटोको दियाको सटा पछिल्लो समय मैनबत्तीको प्रयोग बढ्न थालेको छ । मैनबत्तीको प्रयोग बढेसँगै तिहार लक्षित माटाका भाडाँकुडा बनाउँदै आएका समुदायकाहरु संकटमा पर्न थालेका छन् ।

बिरगंज महानगरपालिका वडा नम्बर २८ बगहीका उमाशँकर कोहार बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा यतिबेला ब्यस्त छन् । माटोको भाँडाकुँडा बनाउँदै आएका कोहार अहिले खासगरि दियो, ढक्ना, खपरी बनाउनमा बढी केन्द्रित छन । दिपावलीलाई मध्यनजर गर्दै उनी दियो, ढक्ना, खपरी बनाउन केन्द्रित भएका हुन् । दिपावली तथा छठ पर्बमा माटोको भाँडाकुँडाहरुको माग ह्वातै बढ्ने गरेको छ । दशैंअघि देखि नै अरु सबै काम छोडी माटोको भाँडाकुँडा बनाउन थालेको बताउँछन् उमाशँकर ।
उज्यालोको पर्ब भनेर चिनिने दिपावलीमा हरेक घरमा माटोको दियो बालिने परम्परा रही आएको छ । माटोबाट बनेको दियो लक्ष्मी पूजाको दिन बाल्ने गरिन्छ । दिपावली र छठ पर्बमा माटोले बनेका भाँडाकँुडा नभई हुँदैन । माटोको दियो बनाएर राख्दै गरेका उमाशँकरले ढक्ना खपरी लगायतका सामानहरु बनाएर नजिकैका गाउँगाउँमा लगेर बेच्ने गरेका छन् । माटोको भाँडा बनाउन प्रयोग हुने चिप्लो माटो पहिला पहिला सजिलै पाइन्थ्यो । तर, अहिले त्यस्तो माटो पाउन कठिन भएको उमाशँकर बताउँछन् । गाउँबाट १८ किलोमिटर टाढा रहेको हासवा गाउँबाट माटो मगाउएर भाँडाकुँडा बनाउँछन् ।
पुर्खयौली पेशा अंगालेर जिवीकोपार्जन गर्दै आएका कोहार समुदायका ब्यक्तिहरु चिन्तित बनेका छन । दिपावलीमा दियो बाल्नको लागि माटोले बनेको दियोको सटा मैनबतीको बढी प्रयोग बढ्न थालेपछि कोहार समुदायका व्यक्तिहरु चिन्तित बनेका हुन् ।

