- Loading...
राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई पटक–पटक गुहार्दा पनि उखु किसानले उद्योगिबाट भुक्त्तानी पाएनन
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल पश्चिमले यसपटक पनि उखु किसानलाई भुक्तानी दिएको छैन । छठ अघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएपनि आजसम्म किसानको खातामा एक रुपियाँ पनि जम्मा भएको छैन ।

केही दिनअघि सर्लाहीका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको पैसा माग्न काठमाडौँ आइपुगेका थिए । उनीहरु उद्योग, बाणिज्य तथा आफूर्ति मन्त्रीलाई स्मरणपत्र बुझाउन काठमाडौं आएका थिए । त्यतिबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धक र अरू जिम्मेवार कर्मचारीले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएका थिए तर आजसम्म किसानको खातामा एक रुपियाँ पनि जम्मा नभएको बताएका छन् । एक सातअघि राष्ट्रपति, उद्योगमन्त्री र पैसा दिन आलटाल गरिरहेको उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर घर फर्किएका धनकौल गाउँपालिका–२ का किसान रामकल्याण यादवले यसपटकको छठमा समेत चिनी मिलले धोका दिएर किसानलाई निराश पार्ने काम गरेको बताउनुभयो ।
किसानको आम्दानीको एक मात्रै स्रोत, नगदे बाली उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवले कृषि टेलिभिजनसँग गुनासो गर्नुभयो । गत वर्ष सञ्चालनमै आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले तीन÷चार वर्षअघि नै किसानबाट किनेको उखुको पैसा दिएको छैन । भाका राखेर सो उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासङ्घले जनाएको छ । समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई वर्षाैंसम्म रुवाइरहेका छन् । अन्नपूर्णले ३० करोड रुपियाँ र महालक्ष्मीले छ करोड रुपियाँको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् । राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको पैसा नपाउँदा सर्लाहीका किसान निराश भएका छन् । किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक पुनः सञ्चालन गर्न उखु क्रसिङ गर्नेगरी प्रविधि मर्मतको काम भइरहेको छ ।

