FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै

    दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागू गरिएको छ ।

    घोराही–१८ फुर्सेखालीका युगराज पोखरेलले चार घार माहुरीबाट सुरु गरेका व्यवसायमा अहिले ६० घार भएका छन् । केही वर्ष पहिले गाईपालन गरेका पोखरेल पेशा परिवर्तन गरेर माहुरी व्यवसाय गरेका छन् । उनी प्रत्येक मौसममा रु। ६ लाखसम्मको मह र रु दुई लाख बराबरको माहुरीको गोला बिक्री गर्ने गरेको बताउँछन् ।

    दाङमा महको व्यापार राम्रो छ । चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन । तोरी, चिउरी जस्तो फूल मुख्य चरनका रुपमा भए पनि बाह्रै महिना उपलब्ध नहुँदा चरनका लागि जिल्ला बाहिर चितवन, कपिलवस्तु र कैलाली लैजानुपर्ने बाध्यता छ । अन्य जिल्लामा लगेका समयमा भने पर्याप्त मह उत्पादन नहुने उनले बताए ।

    तुलसीपुर–८ की सरस्वती आचार्यले चार वर्षअघिदेखि माहुरीपालन व्यवसाय सुरु गरेकी छन् । उनीसँग ३२ घार माहुरी छन् । आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काढ्न सजिलो हुन्छ । मह र माहुरी बेचेर वार्षिक रु तीन लाख आम्दानी गरिँदै आएको उनी बताउँछिन् । तुलसीपुरमै मह प्रशोधन उद्योग भएकाले प्रशोधनको समस्या छैन । उत्पादित मह बिक्रीको कुनै समस्या नरहेको र चरन राम्रो भएमा प्रतिघार २२ किलोसम्म मह उत्पादन हुने आचार्यको अनुभव छ । खेतबारीमा गरेको मेहनतका तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सजिलो भएकाले यो व्यवसायमा लागेको उनी बताउँछिन् ।

    माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले माहुरीपालनका लागि उर्वर भूमि भएकाले कार्यक्रमको योजना र लक्ष्यअनुसार दाङ अगाडि बढेको बताए । दाङका तीन स्थानीय तहमा माहुरी जोन घोषणा गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रम १० वर्षको रहेको र त्यसमा २० घारभन्दा बढी माहुरीपालन गरेका कृषक आबद्ध छन् ।

    गत वर्ष तुलसीपुरमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ । दुई कृषकलाई माहुरीको घार बोक्नेलगायत सम्बन्धित तालीम दिइएको थियो । यसअघि दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम थप गरिएको जनाए । जोनमा आबद्ध भएसँगै किसानलाई प्राविधिक तथा अन्य सहयोग सरकारले उपलब्ध गराएको छ ।

    नेपाल माहुरीपालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षका तुलनामा यस वर्ष १ सय टन बढी मह उत्पादन भएको छ । चरण व्यवस्थित गरिएका कारण मह उत्पादन वृद्धि भएको हो । दाङ जिल्लाका किसानले १६ हजार घार माहुरी पालेका छन् । यसबाट साढे ६ सय टन भन्दा बढी मह उत्पादन हुने गरेको छ । प्रतिकिलो रु २ सय ५० देखि ४ सयसम्ममा बिक्री हुँदै आएको छ । जिल्लाबाट मह काठमाडौं, कास्की, सुनसरी, बुटवल, स्याङ्जा, पाल्पा, बाँकेलगायत जिल्लाका शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउँछन् । दाङमा नारायणपुर, तुलसीपुर, रामपुर, फुर्सेखाली, लक्ष्मीपुर, धर्ना, गुरुवागाउँ र मसिना चरनका लागि हावापानीको हिसाबले उपयुक्त क्षेत्र मानिन्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित