- Loading...
टमाटर खेतीमा रोग लागेपछि मोरङ लेटाङ, जाँतेका किसान चिन्तित
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


टमाटर खेतिमा रोग लागेर बारी नै सखाप भएपछि मोरङको लेटाङ, जाँतेका किसान चिन्तित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको व्लक कार्यक्रम अन्तरगत टमाटर खेति गरेका अधिकांश किसानको टमाटर बालीमा रोग लागेपछि लगानी नउठ्ने भन्दै कृषकहरु चिन्तित भएका हुन् ।

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ र ९ जाँतेका प्राय सबै किसानका बारीमा यतिबेला टमाटर खेति लगाइएको छ । प्रधानमन्त्री कृषि आधिुनिकीकरण कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र विराटनगरमार्फत यस क्षेत्रमा टमाटरको व्लक कार्यक्रम सञ्चालन भएपछि कृषकहरुले १ सय ५० विगाहामा टमाटर खेति गरेका छन् । स्थानीय उत्तरी मोरङ कृषि महिला सहरकारी संस्थामार्फत संगठित भएका कृषकहरुले व्लक कार्यक्रममार्फत ५० प्रतिशत अनुदान पाएका छन् । ब्लक कार्यक्रम मार्फत उपलब्ध गराइएको सृजना जातको टमाटर सबै किसनाले लगाएका छन् । तर अधिकांश किसानको बारीमा लगाएको टमाटार रोगका कारण फस्टाउन सकेको छैन । कसैको त बारी नै पुरै सखाप भएको छ ।
गतवर्ष टमाटर खेतिबाट निकै राम्रो आम्दानी लिन सफल भएका किसानले यसवर्ष पनि सोही अनुसारको आम्दानी हुने आश गरेका थिए । तर थाहा नपाएको रोगका कारण लगानी उठाउन समेत समस्या भएको उनीहरुको गुनासो छ ।
रोगका कारण बारी नै सखाप भएपछि कृषकहरुले बारीमा सिमी तथा काउली लगायतका तरकारी लगाउन थालेका छन् । यता लेटाङ नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठ आफुले अनुगमन गरेर सो रोगको जाँच गरिरहेको र उपचार पनि सुरु गरेको बताउनु हुन्छ ।
लेटाङमा प्रधानमन्त्री कृषि आधिुनिकीकरण परियोजनाअन्तरगत कृषि ज्ञान केन्द्र विराटनगरमार्फत उत्तरी मोरङ कृषि महिला सहकारी संस्थाको समन्वयमा टमाटरको व्लक कार्यक्रम सञ्चालित छ । जसमा ४० लाख बजेट खर्च हुनेमा कृषकहरुले ५० प्रतिशत अनुदान पाएका छन् । तर सरकारले यसरी ठूलो रकम खर्च गरिरहँदा र कृषक स्वयम्ले पनि लगानी र मेहनत गर्दा समेत रोगका कारण सो अनुसारको प्रतिफल नआउने देखिएको छ । रोगले बारी नै सखाप भएपछि व्लक कार्यक्रम नै विफल हुने सम्भावना देखिएको छ । यता यस विषयमा जानकारी दिंदा समेत कृषि ज्ञान केन्द्रले वेवास्ता गरेको कृषकहरुको गुनासो छ ।

