- Loading...
सुन्तलाको व्यवसायिक खेतीसँगै जाजरकोटका कृषक सुन्तलाको जुस बनाउन सक्रिय
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


सुन्तलाको व्यावसायिक खेतीसँगै जाजरकोटका कृषक अहिले सुन्तलाको जुस बनाउन सक्रिय भएका छन् । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन जुस बनाउने कामको थालनी गरिएको हो । सबै ग्राहकका आँखा लाग्ने सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट जाजरकोटमा अहिले जुस बनाउने कामशुरु गरिएको छ । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले यो काम थालेको जनाएको छ ।जिल्लाभरिका अगुवा कृषकको भेला गराई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको छ ।केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकोमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँमा पुगेसँगै देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन् ।

जिल्लाका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समयअघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वयन कार्यालयले अब सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिमसमेत दिएको छ ।तालिमबाट सिकेको सीप गाउँगाउँमा गएर अन्य कृषकले पनि सिक्ने कार्यालयको भनाइ छ । बाइस जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम लिएका छन् । अहिले कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला बिक्री, वितरण कम भएको छ । सुन्तला बिक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पुर्याउने अभियानमा यहाँका किसान लागेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले कृषकलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले नौ सदस्यीय सुन्तला जात फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।सुन्तला जात फलफूल जोनको कार्यक्षेत्र रहेका चार वटा स्थानीय तह कुशे गाउँपालिका, नलगाँड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका कृषकलाई सक्रिय बनाइएको छ ।

