
- Loading...
रुपन्देहीको मर्चवार क्षेत्रलाई दुधको पकेट क्षेत्र बनाइने
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको


लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मर्चवार क्षेत्रलाई दुधको पकेट क्षेत्र बनाउने गरी काम अगाडी बढाएको छ । रुपन्देहीको मर्चवार क्षेत्रलाई दुधको पकेट क्षेत्र बनाउने योजना अनुसार सडक करिडोर परियोजना शुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमार्फत सिद्धार्थनगरको बनगाई क्षेत्र देखि मर्चवारी गाउँपालिकाको ‘बनगाई–मर्चवार सडक करिडोर’ लाई दुध पकेट क्षेत्र बनाउने गरी योजना अगाडी बढाइएको हो । बनगाई मर्चवार रोड करिडोर आसपासका एक सय किसानहरुलाई लक्षित गरि कार्यक्रम शुरु भएको हो । आयोजना तीन वर्षसम्म सञ्चालन हुनेछ । पशु सेवा विज्ञ केन्दको ५० लाख अनुदान तथा किसानको ५० लाख २५ हजार लागतमा आयोजना सञ्चालन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख प्रवेज आलमले जानकारी दिनुभयो । पहिलो वर्ष गोठ निर्माण तथा सुधार, घाँसको विउ तथा बेर्ना वितरण, परजीवी नियन्त्रण गर्ने, औषधोपचार, भिटामिन तथा खनिजको व्यवस्था, ईलेक्ट्रिक च्याफकटर लगायतमा अनुदान दिइने छ ।
कोटहीमाई गाउँपालिकामा एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेलले मर्चवार मार्ग लक्षित दुध उत्पादन कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । मर्चवार क्षेत्रका अधिकांश नागरिकको मूख्य पेशा कृषि र पशुपालन हो । निर्वाहमुखी पशुपालन गर्दै आएका किसानहरुलाई व्यवसायीक बनाउन प्रदेश सरकारले कार्यक्रम शुरु गरेको हो ।
कार्यक्रम सञ्चालन गर्न किसानहरुले सञ्चालक समिति बनाएका छन् । आधुनिक तरिकाले पशुपालन गर्न पशु चिकित्सकहरुले तालिम दिने, व्यवसाय बिस्तार गर्न अनुदान पनि पाइने भएकाले किसानहरु उत्साहित बनेका छन् । अहिले मर्चवार क्षेत्रमा उत्पादन भएको दुध भैरहवा तथा भारतको नौतनहवा क्षेत्रमा बिक्रि हुँदै आएको छ । मूख्य पेशा कृषि, पशुपालन भएका कृषकहरुले पनि कामचलाउ तरिकाले काम गरिरहेका छन् । गरिरहेको पशुपालनलाई तालिम पश्चात व्यवस्थित गरि दुध उत्पादन बढाउने किसानहरुले बताएका छन् ।
दुध उत्पादन बढ्दै गएपछि दोस्रो वर्षदेखि डेरी सञ्चालनमा अनुदान, चिस्यान केन्द्र स्थापना, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम छ । एआई सेन्टर स्थापना, घाँस स्रोत केन्द्र स्थापना, मिल्क क्यान र काउ म्याट खरिद लगायतमा अनुदान दिइने बिज्ञ केन्द्रले जनाएको छ । पशु प्राविधिकहरुको सहकार्यमा किसानलाई प्राविधिक ज्ञान र आधुनिक तरिका सिकाई मर्चवार क्षेत्रलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना छ ।

