FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सर्लाहीमा १५ करोडको गोलभेँडा उत्पादन

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    सर्लाहीमा १५ करोडको गोलभेँडा उत्पादन

    कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा रु ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ ।

    गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन् । लालबन्दीमा ८० प्रतिशतभन्दा बढी जमिनमा गोलभेँडाखेती गरिँदै आएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक गोलभेँडाखेतीतर्फ आकर्षित हुँदै आएका छन् ।

    कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीबाट मात्र मङ्सिरदेखि माघसम्म अर्थात् तीन महिनामा रु ११ करोड २८ लाख ४४ हजार ५०० को गोलभेँडा निकासी भएको छ । लालबन्दी बजारबाट मात्र तीन महिनाको अवधिमा व्यापारीले किसानसँग ५६ लाख ७१ हजार १०० केजी गोलभेँडा खरीद गरेर निर्यात गरेका छन् ।

    माघ महिनामा मात्र लालबन्दी बजारबाट ३८ लाख ७८ हजार पाँच सय केजी अर्थात् रु छ करोड २० लाख ५६ हजार बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निर्यात गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जानकारी दिए । माघमा गोलभेँडा प्रतिकेजी १२ देखि २० रुपैँयामा किनबेच भएको छ ।

    त्यस्तै पुस महिनामा १४ लाख ४४ हजार एक सय केजी अर्थात् तीन करोड २४ लाख ९२ हजार २५० बराबरको गोलभेँडा लालबन्दीबाट निकासी भएको छ । मङ्सिरमा भने तीन लाख ४८ हजार पाँच सय केजी अर्थात् एक करोड ८२ लाख ९६ हजार दुई सय ५० बराबरको गोलभेँडा किसानसँग खरिद गरेर व्यापारीहरुले निकासी गरेको समितिले जनाएको छ ।

    मङ्सिर महिनामा किसानले गोलभेँडाको प्रतिकेजी न्युनतम ४५ देखि ६० रुपैँयासम्म पाउने गर्दछन् भने पुसमा १० देखि अधिकतम ३५ मा किनबेच हुने गर्दछ । फाल्गुनदेखि भने किसानले प्रतिकेजी अधिकतम १५ रुपैँयासम्म मात्र पाउने गर्दछन् ।

    घाम तात्दै अर्थात् गर्मी अत्यधिक बढ्दै गएपछि गोलभेँडा उत्पादन बढ्ने भएकाले किसानले फागुन लागेसँगै मुल्य भने अत्यन्त कम पाउने गरेका छन् । सर्लाहीबाट बाहिर निकासी हुने र जिल्लामै खपत हुने गोलभेँडाको मात्र गत विगत वर्षहरुमा एक याममा ३५ करोड हाराहारीमा कारोबार हुने गरेको थियो । गत वर्ष र यस वर्ष भने केही घटी हुने बताइएको छ ।

    जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र वाग्मती नगरपालिका क्षेत्रका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गोलभेँडा खेती हुने गर्दछ ।

    यसैगरी विगत तीन महिनामा सर्लाहीमा रु १५ करोडभन्दा बढीको गोलभेँडा उत्पादन भएको छ । जिल्लाकै नवलपुर, सासापुर, हरिवनलगायत बजारबाट मुलुकका विभिन्न शहरमा निकासी हुने भएको तथा जिल्लाभित्रै आन्तरिक खपतको परिमाण अनुमान गर्ने हो भने उक्त तीन महिनामा १५ करोडभन्दा बढीको गोलभेँडा सर्लाहीमा उत्पादन भएको जानकारहरु बताउँछन् । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित