- Loading...
कालिमाटीमा किसानका लागि छुट्टै १२ वटा स्टल राख्ने निर्णय
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


काठमाडौँ । कालिमाटी तरकारी बजारमा पहिलो पटक किसानका लागि १२ वटा स्टल छुट्याइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति बोर्डको मंगलबार बसेको बैठकले किसान आफैँले उत्पादन गरेका फलफूल तथा तरकारी सिँधै आफैले लगेर बेच्न सकिने व्यवस्था गरेको हो ।

जसका लागि तत्काल १२ वटा स्टललाई होल्डिङ यार्ड र अक्सन यार्डका रुपमा विकास गरिने निर्णय भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति बोर्डका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले बताए ।
बजारलाई बिचौलिया मुक्त बनाउने र किसानलाई उत्पादनको मूल्य दिलाउने अभियान अन्तर्गत यस्तो व्यवस्था गरिएको उनले बताए । देशको जुनसुकै कुनाको किसानले पनि आफ्नो उत्पादन कालिमाटी ल्याएर बेच्न चाहेमा उसले बेच्न पाउने र सक्ने छ । स्टलमा प्रत्येक दिन फरक फरक किसानले तरकारी तथा फलफूल बेच्न सक्ने छन् ।
जो किसान पहिला आयो उसैले त्यो ११ स्टलमा बस्न पाउने छन् भने एउटा स्टल रिजभमा राखिने छ । रिजभ गरिएको स्टलमा टाढाबाट ढिला आउने किसानले प्रयोग गर्न सक्ने छ । कर्मचारी व्यवस्थापन तथा अरू व्यवस्थापनका लागि एउटा स्टलको २० पैसा प्रतिकेजी तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
एउटा किसानले प्याकिङ गरेको कम्तीमा २५ केजी एउटा व्यापारीलाई बेच्नु पर्ने हुन्छ । किसानसँग कालिमाटीका व्यापारी तथा अरू ठाउँका व्यापारीले किन्न पाउने छन् । ‘टाढाका व्यावसायिक किसानहरूले एक दिनमा बेचेर व्यापार हुँदैन । जो किसानहरूले बजार पाउनु भएको छैन । उहाँहरूले बारीबाट सिधै यहाँ ल्याएर बेच्न पाउने छन् ।’ उनले भने ।
हरेक दिन २० घण्टा किसानले यी स्टलहरू प्रयोग गर्न पाउने छन् । ३ घण्टा भने स्टल सरसफाईका लागि छुट्याउने गरिन्छ । यदि एउटा किसानले तरकारी तथा फलफूल बेची सकेर स्टल खाली भए अर्को किसानले बेच्न पाउने छन् ।
केही तयारी गर्नु पर्ने भएकोले २÷४ दिनमा यो निर्णय कार्यान्वयन हुने कार्यकारी निर्देशक भट्टराईले बताए । उनले स्टल सञ्चालनमा आएसँगै सरकार प्रति किसानका बजार पाएनौ, मूल्य पानौं भन्ने गुनासोको अन्त्य हुने बताए । साथै उपभोक्ताले पनि केही सस्तोमा उपभोग गर्न पाउने छन् ।
‘यसरी सिधै किसानले बेचे पछि केही हदसम्म गुनासोको अन्त्य हुन्छ ’ उनले भने,‘देशैभरका किसानहरू गुनासो अन्त्य भयो भन्न खोजेको हैन किनकी सबै किसानहरूलाई नपुग्न सक्छ तर सबै किसानहरू कालिमाटि मै ल्याएर बेच्छु भन्ने पनि छैनन् त्यसैले यस्ता गुनासोको अन्त्य हुने अपेक्षा गरिएको छ ।’
उक्त स्टललाई पछि बढाएर २३ वटा सम्म पुर्याउने योजना रहेको पनि बताए ।

