FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानलाई निःशुल्क घाँसको बीउ वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    किसानलाई निःशुल्क घाँसको बीउ वितरण

    टीकापुर । कैलालीको टीकापुर नगरपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालनमा लागेका किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका समूह तथा कृषि फार्मलाई बर्खे टियोसेन्टी जातको घाँसको बीउ वितरण गरिएको हो ।

    पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको पशु शाखा प्रमुख श्यामराज पाण्डेले बताए । नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौँ”, पाण्डेले भने, “नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ ।”

    पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशु फार्म सञ्चालन गरेका किसानलाई पशुको सङ्ख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ ।

    नगरपालिकाले १० क्विन्टल टियोसेन्टी जातको घाँसको बीउ वितरण गरेको पाण्डेले बताए । “टीकापुर मासु र दूधमा आत्मनिर्भर बनिसकेको छ । यहाँ उत्पादन भएको मासु, दूध अन्य जिल्ला निकासी हुने गरेको छ”, उनी भन्छन्, “मासु तथा दूधको खपत पनि राम्रो भएकाले किसानको समेत आकर्षण बढेको छ । पशुपालनमा युवाको आकर्षण बढेको छ । हामी सहयोगीका रूपमा उभिएका छौँ ।”

    टीकापुर नगरपालिकामा अहिले व्यावसायिकरुपमा पशुपालन गर्ने कृषि फार्म ८२ छन् भने २५ समूह छन् । ती कृषि फार्ममा गाई, भैँसी, बङ्गुर, बाख्रालगायत पशुपालन गरिएका छन् । व्यावसायिकरूपमा मासु तथा दूध उत्पादनका लागि कृषिकर्म गरिरहेका किसानलाई पशु सेवा शाखा कार्यालयले हरेक वर्ष यसरी नै घाँसको बीउ वितरण गर्ने गरेको छ ।

    कैलालीको जानकी गाउँपालिकाले पनि पशुपालनमा लागेका किसानलाई व्यवसाय सञ्चालनमा सघाउँदै आएको छ । गाउँपालिकाले घाँसको बीउ वितरण, घाँस काट्ने मेसिन, गोठ निर्माणलगायतका काममा किसानलाई सघाउँदै आएको छ ।

    पालिकाले किसानलाई तालिम, पशुको उपचारमा सघाउन समय–समयमा शिविरसमेत सञ्चालन गर्ने गरेको जनाएको छ । स्थानीय तहले व्यावसायिक किसानलाई मात्र तालिम दिने, सहयोग कार्यक्रम सञ्चालन गर्ने भएकाले पशुपालन गरिरहेका अन्य किसानलाई समेत समेट्न आवश्यक भएको किसानको भनाइ छ ।

    “हामी घरमा एक÷दुई गाईभैँसी तथा बाख्रा पाल्ने किसानलाई पनि ज्ञान आवश्यक छ । हामीलाई पनि प्राविधिक तथा अन्य सहयोग गरेको भए हुन्थ्यो”, किसान लक्षिराम न्यौपाने भन्छन्,“सीप र सहयोग पाए हामीलाई पनि व्यावसायिक बन्न सहयोग पुग्छ । विदेश जानुभन्दा हामीजस्ता युवालाई प्रोत्साहन गर्ने कार्य सरकारले गर्नुपर्छ ।” रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित