FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हुम्लामा हिमपात, किसान खुशी

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    हुम्लामा हिमपात, किसान खुशी

    उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ ।

    आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताए । बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ ।

    विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ ।

    सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् । यस्तै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ ।

    नाम्खामा बुधबार दिउँसो एक बजेबदेखि शुरु भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् । नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले बताए ।

    विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए । मङ्गलबार चार हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधबारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ ।

    किसान खुशी

    लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् । मङ्गलबार राति वर्षा र बुधबार रातिदेखि नियमित हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् । कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् ।

    यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको बताइएको छ । दुइदिन परेको पानीले किसानलाई निकै राहत हुने भएको छ । मौसम सफा हुनासाथ अब यहाँका किसान खनजोतमा व्यस्त हुने भएका छन् । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित