- Loading...
नेपाली सेनाले कृषिमा स्नातक स्तरको तालिम दिँदै
- कृषि टि.भी.
- २ साल अघि
- २९ पटक पढिएको


नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक ब्याचलर इन एग्रिकल्चर साइन्स० स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।सो स्तरको तालिमका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भभ पौडेलले जानकारी दिए । लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०७६ भदौदेखि सञ्चालमा आएको सो तालिम केन्द्रमा नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिइँदै आएको छ । सो तालिम केन्द्र दुई सय रोपनीमा फैलिएको छ ।

पहिलो चरणमा २४ जनाले बाली विज्ञान र १६ जनाले भेटेरिनरीतर्फको तालिम लिइसकेको र हाल ८० जनाले तालिम लिरहेको प्रवक्ता पौडेलले जानकारी दिए । ८० जनामध्ये ७६ जना बहालवाला र चार जना अवकाशप्राप्त सैनिक रहेको उनले जानकारी दिए । तालिम लिइसकेपछि रोजगारी गर्न चाहनेका लागि नेपाली सेनाले सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । त्यसका लागि नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग नेपाली सेनाले सम्झौता पनि गरिसकेको छ ।
तालिम लिएर कृषि कर्म गर्न चाहनेलाई तीन लाखदेखि १५ लाख रुपियाँसम्मको सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । तालिम प्राप्त गरी सहकारीमार्फत सामूहिक खेती गर्न इच्छुक भए अझै बढी ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।रोजगारी सिर्जना गर्ने भरपर्दो माध्यम कृषि भएको हुनाले नेपाली सेनाले त्यस खालको कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उनले नेपाली सेनाबाट अवकाशप्राप्त भएपछि बेरोजगार भएर बस्ने वा अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको तथा सैनिक जागिर छाडेर वैदेशिक रोजगारीमा जाने सङ्ख्या बढ्दै गएको देखेर प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो कार्यक्रम सञ्चालन गर्नुभएको उनले बताए ।
नेपालमा सबभन्दा बढी सम्भावना भएको क्षेत्र नै कृषि रहेको र यसमा जति पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मान्यताअनुसार यो काम भइरहेको उनले बताए । यस क्षेत्रमा तालिम दिइयो भने आफैँ पनि स्वरोजगार सिर्जना गर्न सकिने भएकाले नेपाली सेनालाई कृषि तालिमको व्यवस्था गरेको उनले बताए । यसले नेपालको अर्थतन्त्रमा पनि टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
त्रिविले मान्यता दिए सो केन्द्रले स्नातक तहको तालिम पनि दिइने तयारी भइरहेको उनले बताए। केन्द्रमा कृषि फार्म सञ्चालन गरी तालिमको व्यवस्था गरिएको छ । भविष्यमा नेपाली सेनाले आफ्नै कृषि फार्म पनि सञ्चालन गर्ने सोच बनाएको तर त्यसअघि सो केन्द्रबाट जनशक्ति तयार गर्ने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ ।

