- Loading...
घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित
- कृषि टि.भी.
- २ साल अघि
- ४८ पटक पढिएको


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पुगेका छन् ।

समुन्द्र सतहदेखि तीन हजार पाँच सय मिटर उच्चाइमा अवस्थित घुन्सामा बिहीबार र शुक्रबार बिहान हिमपात भएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । हिमपात भएपछि अत्यधिक चिसो मौसम हुने भएकाले कक्षाकोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पा बताउँछन् ।
उनी भन्छन्, “हिजो बिहानदेखि आज बिहानसम्म हिउँ परेको छ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो । पढाउनै पर्यो । हिमतापका कारणले मौसम एकदम चिसो छ ।” हिमपातले चौँरी याक साथै पशुपालकलाई पनि समस्या भएको स्थानीय पेमा शेर्पाले जानकारी दिए । ताप्लेजुङमा बिहीबार हिमपात हुँदा पाथीभरा क्षेत्रमा समेत हिउँ जमेको छ । बिहाबार ताप्लेजुङमा वर्षासँगै हिमाली क्षेत्र हिमपातले सेताम्य भएको छ । रासस

