- Loading...
बेलबारी नगरपालीकाले अष्ट्रेलियाबाट ल्याएको भनिएको बोयर जातको बाख्रा नेपालमै किनेको भेटियो
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


बेलबारी नगरपालिकाले गत शनिवार अर्थात जेठ १५ गते किसानलाई वितरण गरेको बोयर जातका बाख्राका पाठा पाठी अष्ट्रेलियाबाट ल्याइएको दावी ‘गलत’ सावित भएको छ । वितरित बाख्राहरु सम्झौता अनुसारका ‘शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर जातका’ भनेर नगरापलिकाले बताए पनि पुष्टि गरेको छैन । किसानलाई वितरण गरेलगत्तै वितरित बोका पाठीहरु भनिए अनुसारका शुद्ध प्रजातिको नभएको र अष्ट्रेलियाबाट ल्याइएको समेत हैन भनी आलोचना भएको थियो । आलोचना भएको ३ दिन वितिसक्दा पनि नगरपालिकाले यसबारे पुष्टि गर्न सकेको छैन् । गत शनिबार नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएको भन्दै किसानलाई ५२ ओटा पाठा र ३८ वटा पाठी वितरण गरेको थियो ।
एकातर्फ नगरपालिकाले पुष्टि गर्न नसक्नु र अर्कोतर्फ पशु सेवा विभाग अन्र्तगतको आयात निर्यात नियमन शाखाले अष्ट्रेलियाबाट बोकापाठी नभित्रिएको दाबी गर्नुले नगरपालिकाले गलत प्रचार गरेको पुष्टि भैसकेको छ । नगरपालिकाले किसानहरुका लागि उन्नत जातका ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर बोकाबाख्रा ल्याउन ग्रो अर्गानिक कृषि प्रा.लि.सँग सम्झौता गरेको थियो । सम्झौता अनुसार नै तोकिए बमोजिमका बोकाबाख्रा अष्ट्रेलियाबाट लाइएको प्रचार गरिएपनि अहिलेसम्म अष्ट्रेलियाबाट बोकापाठी नभित्रिएको पशुसेवा विभाग अन्तर्गतको आयात निर्यात नियमन शाखाले जनाएको छ । प्रजाति विस्तार ब्रिडिङका लागि ल्याइने बोकाबाख्रा आयात गर्नुअघि त्यस विषयमा पशुसेवा विभागमा अनिवार्य जानकारी तथा सम्पुर्ण विवरण नै अग्रिम उपलब्ध हुनुपर्छ । तर, विभागमा सो विवरण उपलब्ध नरहेको शाखाका डेस्क अफिसर डाक्टर मनोज शाहीले बताएका छन् । त्रिभुवन विमानस्थलबाट आउने होस वा छिमेकी भारत वा चिनसँगको जमिनको नाकाबाट ल्याइने सम्पुर्ण पशुका बारेमा विभागमा अनिवार्य जानकारी हुनु पर्छ । तर, त्यसरी अष्ट्रेलियाबाट वा भारत चिनबाटै पनि बोकाबाख्रा आयात नभएको दाबी शाहीको छ । नेपालमा कोभिड सुरु भएयता विगत झण्डै १ वर्ष देखिनै अष्ट्रेलियाबाट बोकाबाख्रा नभित्रिएको शाहीको दाबी छ । यसरी ल्याइने बोकाबाख्राका विषयमा जन्मको मात्रै नभएर उनीहरुका तिन पुस्ते जानकारी सहितको विवरण नै अग्रिम उपलब्ध हुनुपर्ने प्रावधान छ । यता, पशुसेवा विभागका क्वारेन्टाइन अफिसर डाक्टर मोदनाथ गौतमले पनि ब्रिडिङका लागि ल्याइने बोकाबाख्राका विषयमा क्वारेन्टाइनका लागि वा आयात अनुमतिका लागि समेत अनिवार्य विभागमा जानकारी गराउनै पर्ने व्यवस्था रहेको बताउँछन् ।
तर, बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाटै ल्याएको भनिएको ती बोकाबाख्राको प्रजातिय शुद्धता र आयातका विषयमा चौतर्फी प्रश्न उठ्दा समेत नगरपालिकाले जवाफ दिन सकेको छैन् । सोमबारमात्रै विज्ञप्ती जारी गर्दै बेलबारी नगरपालिकाले सम्झौता बमोजिमको बोकाबाख्रा पुष्टि नभएमा र मापदण्ड पुरा भएको नदेखिएमा ग्रो अर्गानिक प्रा.लि.को धरौटी जफत गरी कालोसुचीमा राखेर कानुनी प्रकृया अघि बढाउने जनाएको छ । नगरपालिकाले कम्पानीलाई भुक्तानी दिएको छैन । २ दिनभित्रमा बोकाबाख्राका सम्पुर्ण जानकारी विवरण र आयात सम्बन्धीका सबै डकुमेन्ट नगरपालिकामा बुझाउने प्रतिवद्धता कम्पनीले गरेकाले सम्झौता विपरितका काम भएको भए भुक्तानी नहुने नगरपालिकाले जनाएको छ । किसानहरुले समेत बोकाबाख्राहरु शुद्ध अष्ट्रेलियन नभएको दावी गरेका छन् ।


