- Loading...
दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारीलाई लोगो वितरण सुरु
- कृषि टि.भी.
- १ साल अघि
- २५ पटक पढिएको


राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई लोगो अर्थात प्रतीक चिह्न प्रदान गरेको छ । बोर्डले बुधबार दुग्ध विकास संस्थानका १५ वटा र निजी क्षेत्रका पाँचवटा सवारीसाधनका लागि लोगो प्रदान गरेको हो ।। एक रिपोर्ट ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दुध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गर्न सुरु गरेको छ । दुग्धजन्य पदार्थको ढुवानीको क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध गर्ने भएपछि यसबाट बच्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धजन्य पदार्थ बोकेको सवारी साधनलाई अत्यावश्यक मान्दै लोगो मार्फत सहजरुपमा आवतजावत गर्न सकिने अवधारणा अनुरुप सरकारी तथा नीजि सवारी साधनलाई लोगो प्रदान गर्न शुरु गरेको हो । बुधबार दुग्ध विकास संस्थान, केन्द्रीय कार्यालय लैनचौरमा एक कार्यक्रम आयोजना गरी दुग्ध विकास संस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) उपलब्ध गराएको हो । अब सो लोगोका आधारमा दुग्धजन्य पदार्थ ढुवानीका साधनहरु निर्वाध रुपमा चल्ने राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख डा. राजेन्द्र यादवको भनाई छ । यसरी लोगो प्राप्त गर्न केही मापदण्डहरु पुरा गर्नुपर्ने यादवको बताउनुभयो । बुधबार सरकारी सवारीलाई लोगो वितरण गरिएको थियो भने शुक्रबारदेखि नीजि ढुवानीका सवारी साधनलाई पनि लोगो वितरण गरिने छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले नेपाल सरकारले दुध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतिक चिन्ह प्रदान गरिएकाले प्रतिक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग पुग्ने विश्वास बोर्डको छ । गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउन र प्रशोधन गरी बिक्री केन्द्र हुँदै उपभोक्तासम्म पुर्याउन ढुवानीमा कुनै रोकावट नहोस् भनी लोगोको व्यवस्था गरेको बोर्डले जनाएको छ ।
यसरी निर्वाध रुपमा चल्न दिइएमा दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दुध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सुनिश्चित हुने विश्वास बोर्डको छ । गत चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह (लोगो)सार्वजनिक भएको थियो । दूध ढुवानीको संवेदनशिलतालाई मध्यनजर गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई पहिचान गरी निर्वाध सञ्चालनको लागि लोगो सहित सञ्चालनको अवधारणा ल्याएको हो ।

