- Loading...
तिलोत्तमामा ट्रेक्टरको जोताईंको नयाँ भाडा दर कायम
- कृषि टि.भी.
- १ साल अघि
- १८ पटक पढिएको


रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्रेक्टरको जोताईंको नयाँ भाडा दर कायम गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो । नगरपालिकाले ट्रेक्टरधनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर ट्रेक्टरको नयाँ भाडा दर कायम गरिएको वडा नं. १३ का वडाध्यक्ष समेत रहेका भाडादर निर्धारण समितिका संयोजक गणेश न्यौपानेले जानकारी दिए । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्रेक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ४ सय ४० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८ सय ५० रुपैंयाँ कायम गरिएकोछ । डिजलको मूल्यवृद्धि, बजारको अवस्था लगायतको आधारमा २०७७ वैशाखमा निर्धारण गरिएको भाडादरलाई समायोजन गरिएको वडाध्यक्ष न्यौपानेले बताए । अब तिलोत्तमा नगरपालिकामा निर्धारण गरिएको भन्दा बढी भाडा लिन पाइनेछैन । तिलोत्तमा नगरपालिकाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । तोकिएकोभन्दा बढी भाडा कसैले लिए सम्बन्धित निकायमा जानकारी गराउन समिति संयोजक न्यौपानेले किसानलाई आग्रह गर्नुभयो ।।


