- Loading...
पाँच महिनामा रानीखेत र एचनाइन रोगका कारण १८ लाखभन्दा बढी कुखुरा मरे
- कृषि टि.भी.
- १ साल अघि
- २८ पटक पढिएको


चितवन र आसपासका जिल्लामा पाँच महिनामा रानीखेत र एचनाइन रोगका कारण १८ लाखभन्दा बढी कुखुरा मरेका छन् । नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेशका अनुसार पछिल्लो पाँच महिनामा चितवनसहित नवलपरासीको दाउन्नेदेखि मकवानपुरको मनहरीसम्मका पोल्ट्री किसानको १८ लाख कुखुरा मरेका छन् । १८ लाख कुखुरा मर्दा ७५ करोडको क्षति भएको छ । नेपाल पोल्ट्री महासंघका अनुसार देशभर ६० लाख कुखुरा एचनाइन र रानीखेतले मरेका छन् । काठमाडौँ, काभ्रे, चितवन, नुवाकोट, धादिङ जिल्लामा फैलिएको एचनाइन र रानीखेत रोग अहिले देशभर नै पुगेको महासंघको भनाइ छ । कुखुरा धेरै मरेपछि कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. सुवीर सिंहको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ अध्ययन समिति गठन गरेको थियो । अध्ययन समितिले मरेको कुखुराको नमुना भारत पनि पठाएको थियो । भारतबाट आएको रिपोर्टमा अधिकांश कुखुरा रानीखेत र एचनाइनले मरेको पुष्टि भएको छ । महासंघका अनुसार भ्याक्सिन लगाउँदा पनि भ्याक्सिनले काम गरेको छैन । गठित अध्ययन समितिले फेरि कुखुराको अर्को नमुना भारत पठाएको छ । तर, त्यसको नतिजा आइसकेको छैन ।


