- Loading...
खुमलटारमा कृषि मन्त्रीले रोपे धान
- कृषि टि.भी.
- १ साल अघि
- २१ पटक पढिएको


राष्ट्रिय धान दिवस मंगलबार बिभिन्न कार्यक्रम गरि मनाइएको छ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । यसदिन मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्वतःफूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित छ । दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद्को खुमल्टार ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी धान दिवस मनाइएको छ । कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकु्मार नेम्वाङले सांकेतिकरूपमा धान रोप्नुभएको थियो । उहाँले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गर्नुभएको थियो । नेपालको खाद्य र पोषण सुरक्षाका लागि उत्पादन बृद्धि गर्नै पर्ने उहाले बताउनुभयो । मन्त्री नेम्वाङले प्रविधिको प्रयोग गरे उत्पादनबृद्धिमा जोड दिने धारणा राख्नुभयो ।

यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।।

