- Loading...
देशैभरका किसानहरु असार लागेसँगै धान रोपाइँमा व्यस्त
- कृषि टि.भी.
- १ साल अघि
- २२ पटक पढिएको


देशभर २७ प्रतिशत भन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । समयमै बर्षा हुदाँ देशैभरका किसानहरु असार लागेसँगै धान रोपाइँमा व्यस्त भएका छन् । प्रदेश १ मा १८ प्रतिशत धान रोपाइँ सकिएको छ । २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको प्रदेश एकमा हालसम्म ३२ हजार २१ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको हो ।

यस बर्ष प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा बर्खे धान रोपाइँ हुने अनुमान कृषि विकास निर्देशनालयको छ । बाग्मती प्रदेशमा २१ दशमलब २२ प्रतिशत धान रोपाइँ भएको छ । सबैभन्दा धेरै सिन्धुलीमा ४० प्रतिशत रोपाई भएको छ भने सबै भन्दा कम नुवाकोटमा १० प्रतिशत रोपाई भएको छ । १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रमा धान खेती हुने बाग्मती प्देशमा अहिलेसम्म २४ हजार २ सय ८८ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ । त्यस्तै, गण्डकी प्रदेश ३६ प्रतिशत रोपाइँ सकिएको छ । १ लाख २० हजार ५ सय ३० हेक्टर क्षेत्रफल मध्ये हालसम्म ४३ हजार ४ सय ३५ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ । तनहुँमा ४७, लमजुङमा २५, पर्वतमा २०, म्याग्दीमा ५०, गोर्खामा २५, नवलपुरमा ५५, स्याङ्जामा २५, बागलुङमा ५०, कास्कीमा ३५ प्रतिशत धान रोपाई सकिएको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा ४७ प्रतिशत रोपाइँ भएको छ । रोल्पामा सबैभन्दा बढी ९० प्रतिशत खेतमा रोपाइँ भएको छ भने गुल्मीमा सबैभन्दा कम ७.७ प्रतिशत खेतमा रोपाइँ भएको छ । कर्णाली प्रदेश ५५ प्रतिशत रोपाइँ सकिएको छ । दैलेख, जाजरकोट, रुकुम पश्चिममा करिब ८० प्रतिशत रोपाई भएको छ । सुर्खेतमा ४५ प्रतिशत, सल्यानमा ८० प्रतिशत रोपाई सम्पन्न भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ७३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कैलालीमा ८५, कन्चनपुरमा ७०, अछाममा ७०, बाजुरामा ९०, बझाङमा ६५, बैतडीमा ६२, दार्चुलामा ७२, डडेलधुरामा ७५, डोटीमा ६० प्रतिशत धान रोपाई भएको कार्यालयले जनाएको छ ।

