- Loading...
बङ्गलादेशबाट नेपाल आइपुगेको ४५ हजार मेट्रिक टन मल वितरण सुरु
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


राम मण्डल, पर्सा । सरकारले किसानहरुका लागि बङ्गलादेशबाट खरीद गरेको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । बँगलादेशबाट खरिद गरिएको उक्त परिमाणको मल वीरगञ्ज र बिराटनगर र भैरहवा नाका भएर नेपालसम्म आई पुगेको हो । रोपाईको सिजनलाई ध्यानमा राख्दै र अगामी दिनमा किसानहरुको लागि गत बर्षको जस्तो मल हाहाकार नहोस भनी सरकारले बङ्गलादेश सँग जीटुजीमार्फत मल खरिद गरेको हो । वीरगञ्ज नाका भएर मल आएको तथा बाँकी मलहरु बिराटनगर नाका भएर आउने क्रममा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । मल नेपाल आईपुगेसँगै वीरगञ्ज कार्यालयबाट अहिले धमाधम मलहरु बितरण गर्ने कार्य चलिरहेको छ । प्रदेश नम्बर २ का जिल्लाहरुसँगै प्रदेश नम्बर ३ र गण्डकी प्रदेशमा समेत कम्पनीको वीरगञ्ज स्थित प्रादेशिक कार्यालयले मल उपल्बध गराउने गरेको छ । मल बँगलादेशबाट कम्पनीको गोदाममा आईसकेकोले सो मललाई अहिले आवशयक परेको स्थान तथा जिल्लाका कृषि सहकारी सँस्थाहरुलाई बितरण गरिरहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए ।

हरेक बर्ष किसानहरुले मलको हाहाकार खेप्दै आएपनि यसबर्ष भने मलको अभाव नहुने कम्पनीको दाबी छ । यसबर्ष रोपाईको मुख्य सिजनमा मल अभाव नभएकाले किसानका लागि खुशीको कुरा भएको किसान हकहित संघर्ष समिति पार्साका अध्यक्ष सहरुम राउत गदी बताउँछन् । तर, अहिले मलको अभाव नदेखिएपनि पछि गएर अभाव सिर्जना हुने हो अथवा सहकारीहरुले नै कृत्रिम अभाव सिर्जना गरेर दुख दिन सक्ने भन्दै यसमा समबन्धित निकायले अनुगमन गर्नुपर्ने उनी बताउँछन् ।
सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले मँग्लबारसम्म युरिया मल ९ हजार ५ सय ६१ मेट्रिक टन बिक्री गरेको छ, भने २ हजार ४ सय ८८ मे.टन मौजाद रहेको छ । यस्तै डिएपी ५ हजार ६७ मेट्रिक टन कार्यालयले बिक्री गरेको छ भने मौजदातमा ७ हजार १ सय ३३ मे.टन रहेको कार्यालयले जानकारी दिएको छ ।यसबीचमा पोटास ४ सय ७८ मेट्रिक टन बिक्री भएकोमा मौज्दातमा ७ सय २८ मेट्रिक टन रहेको कम्पनीको प्रादेशिक कार्यालयले जनाएको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने सरकार र कम्पनीको दाबी छ ।

