- Loading...
एक साता देखि पानी नपर्दा बाँकेमा धान रोपाई रोकियो
- कृषि टि.भी.
- २ साल अघि
- ३३ पटक पढिएको


जागेश्वर सिह थारु, बाँके । समयमै मनसुन सक्रिय हुदाँ बाँके र बर्दिया जिल्लाका किसानहरुले अघिल्लो बर्षको भन्दा छिटो समयमा धान रोपाई गर्न शुरु गरेका थिए । तर, अकाशे पानीको भरमा धान रोपाई गर्नुपर्ने बाध्यताका कारण असार १५ देखि पानी नपर्दा किसानहरुले धान रोपाई रोकेका छन् । हाल सम्म बाँकेमा ६० प्रतिशत खेतमा धान रोेपाई भइसकेको छ । तर, अझै बाँकेमा ४० प्रतिशत र बर्दियामा २० प्रतिशत खेतहरुमा पानी अभावका कारण धान रोपाई नहुदाँ किसानहरु चिन्तित छन् । बाँकेमा सिक्टा नहर र बर्दियाको बबाई नहर भएपनि खेत खेत सम्म नपुग्दा किसानहरु महँगो लगानी गरेर रोपाई गर्न बाध्य छन् । एक तिर धान रोपाई गर्न सकेका छैनन भने अर्को तिर रोपाई गरेका धानहरुपनि पानी नपाएर सुख्न थालेका छन् ।

छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सक्किन लागेको छ भने सिक्टा नहर भएपनि त्यो पुर्ण रुपमा निर्माण हुन सकेको छैन अझै । नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नहुदाँ नहरमा पानी हुँदा हुदै पनि धान रोपाई गर्न नसकेको किसानहरुले बताएका छन् ।
मनसुन छिटै लागेकोले धान रोपाई पनि छिटो नै गर्न सोच बनाएका थिए किसानहरुले । तर, असार १५ पछि बाँके अधिकंश क्षेत्रमा पानी नपर्दा किसानहरुले रोपाइँ गर्न पाएका छैनन् । सरकारले कृषिमा अर्बौ लगानी गरेपनि खेत खेतमा अझै पनि सहजै पानी पु¥याउन नसकेको किसानहरुको गुनासो छ ।
पानी नपर्दा खेतहरु सुकेका छन् भने रोपीएको धान पनि पानि नपाएर सुख्न थालेका छन् । किसानलाई रोपाई ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ । सरकारले खेतियोग्य जमिनमा सिचाईको व्यवस्था मिलाउन चासो नदेखाएको स्थानीयले बताउने गरेका छन् ।

