- Loading...
मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरुलाई क्षतिपूर्ति दिन लगत संकलन
- कृषि टि.भी.
- १ साल अघि
- १७ पटक पढिएको


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरुलाई राहात दिने गरी लगत संकलन गरीरहेको जनाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरुलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत संकलन गरिरहेको बताउनुभएको हो । उहाँले संघीय सरकारको मुख्य दायित्व प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर लैजाने बताउनुभयो ।
आगामी आर्थिक वर्षको कार्यक्रममा केही पैसा क्षतिपुर्तिमा दिने र केही बजेटको व्यवस्था पनि पहिलोपटक गर्न लागेकाले मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत के कति क्षति भएको छ त्यसको तथ्यांक संकलन गरिरहेको बताउनुभयो । एकहप्ता भित्र लगत संकलन भइसक्ने र असार २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति मार्फत सम्बोधन गरिने सचिव कार्कीको भनाइ छ ।
यस्तै सचिव कार्कीले यस वर्ष औसत रुपमा धान रोप्न ढिलाइ भइरहेको र देशभर हालसम्म ५६ प्रतिशत मात्र धान रोपाई भएको बताउनुभयो । यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिईएको उहाँको भनाइ छ । निरन्तर भेलबाढी आइरहेमा सरकारको लक्ष्य प्राप्तिमा समस्या पैदा हुने भइरहेकाले बाढी, पहिरोबाट किसानलाई क्षति हुन नदिनका लागि मन्त्रालयको ध्यान केन्द्रीत रहेको पनि सचिव कार्किले बताउनुभयो ।

