
- Loading...
धान रोपेको एक महिनामै काडेदार खपटे हिस्पाको प्रकोप
- कृषि टि.भी.
- २ साल अघि
- ५६ पटक पढिएको


लमजुङ । लमजुङको राईनास नगरपालिकामा धानमा लाग्ने किराको प्रकोप देखिन थालेको छ । गत असार महिनामा मात्रै रोपिएको धान वालीमा काडेदार खपटे हिस्पाको प्रकोप देखिन थालेको हो ।
नगरपालिका अन्तर्गत मुख्य खाद्यान्न वालीको रुपमा रहेको धान वालीमा काडेदार खपटे हिस्पाको प्रयोग देखिन थालेको राईनास नगरपालिका कृषि शाखा प्रमुख विजय श्रेष्ठले बताए । रोपाई भएको एक महिनाकै अवधीमा किराको प्रकोप परेपछि किसानको जिविकोपार्जनमा समेत प्रत्यक्ष असर पार्नसक्ने कृषि शाखा प्रमुख श्रेष्ठको भनाई छ ।
कृषकहरुले दिएको जानकारी अनुसार राईनास नगरपालिका अन्तरगतका तिनपिल्ले गरमवेशी लगायतका क्षेत्रमा यस किराको प्रकोप देखिएको छ । धानमा किराको प्रकोप देखिन थालेसँगै राईनास नगरपालिकाले सुचनामार्फत यस किराको प्रकोपवारे जानकारी र व्यवस्थापन लागि कृषकहरुलाई सुचना जारी गरेको छ । वयस्क खपटे किरा निलो र कालो रंगको काडेदार पखेटा भएको हुने र यसले क्षति पुराएको पातमा सेता धर्साहरु देखिने कृषिशाखा प्रमुख श्रेष्ठको भनाई छ । यस किराले धानको पात र गुभो खाएर बिरुवा नै सुक्ने र धानबालीलाई नष्ट पार्न सक्ने उनले बताए ।
काडेदार खपटे हिस्पा प्रकोपको व्यवस्थापनका लागी धानको पातको टुप्पामा फुलहरु देखिएमा टुप्पो चुँडेर नष्ट गर्न पालिकाले कृषकलाई आग्रह गरेको छ । त्यस्तै धानको व्याडमा टम्म पानी जमाउने र पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्न आग्रह गरेको छ ।प्रकोप वढि भएमा अन्तिम विकल्पको रुपमा क्लोरपाईरीफल पानिमा मिसाई प्रयोग गरी व्यवस्थापन गर्न सकिने नगरपालिका कृषि शाखाले जनाएको छ ।

