
- Loading...
सुनसरी जिल्लामा पहिलो बालमैत्री घोषणा रामधुनी नगरपालिका
- कृषि टि.भी.
- १ साल अघि
- १५६ पटक पढिएको

प्रदेश १ सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले रामधुनी नगरपालिकालाई सुनसरी जिल्लाको पहिलो तथा प्रदेश नं. १ को दोश्रो तथा नेपालको दशौँ बालमैत्री नगरपालिका घोषणा गर्नुभएको छ ।

बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धीमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ । बालमैत्री नगरपालिका निर्माणको यात्रामा रामधुनी नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको छ । जसका कारण बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिएको छ । सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले यो पुस्ताको लागि घोषणा गरे पनि आउने नयाँ पुस्ताको लागि पनि बालमैत्रीलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो। साथै उक्त अवसरमा सामाजिक विकास मन्त्री साम्सोहाङ रामधुनि नगरपालिकाको नयाँ भवनको समेत उदघाटन गर्नुभयो ।
रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी भन्नुहुन्छ “हामीले नगरपालिकालाई बालमैत्री घोषणा गयौं, यो संगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने थप जिम्मेवारी हामीले महसुस गरेका छौ । हामीले बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गर्यौं , जसको निरन्तरता सदैव हुनेछ ।
सोही अनुरुप रामधुनी नगरपालिकाले बालबालिकाको क्षेत्रमा पुजिगत बजेटको १५ प्रतिशत बजेट विनियोजन गर्दै आएको छ । जसले गर्दा सत प्रतिशत बालबलिका विद्यालय भर्ना हुन सहयोग मिलेको छ , सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय रहेको छ, सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ, सबै घरमा शौचालय बनेको छ , बालबालिकाहरुको जन्मदर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्युनीकरणको काम तिब्र रुपमा गरिरहेको छ र वालविवाह रोकथाम, न्युनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ ओटा सूचक पूरा गर्नुपर्ने भएपनि रामधुनी नगरपालिकाले एक सुचक थप गरी सबै सुचक पुरा गरेको हो । यसलाई निरन्तरता दिनु पनि उतिकै चुनौति समेत थपिएको छ।
रामधुनी नगरपालिकाकाले बाल मैत्री स्थानिय शासन प्रबर्धन घोषणा तथा निरन्तरताका लागि नगरका सरोकार वालाको उपस्थितिमा २०७५ भदौ १७ गते बालमैत्री आचार संहिता समेत लागु गरिएको थियो। नमुना नगर बाल संजालकी उपाध्यक्ष प्रिती चौधरीका अनुसार “नगरपालिकाका सम्पूर्ण बालबालिकाको सपना अन्नत पूरा भएको छ । बालमैत्री घोषणा गर्ने क्रम संगै बालमैत्री नगरको रुपमा हामीले सबै बालबालिकाको अधिकार सुनिश्चित गरेको छ।
बालबालिकाले सुरक्षित वातवारणको महसुस गर्न पाएका छन् र बालमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाएका छन् । नगरपालिका संग नजिकमा रहेर काम गर्ने अवसर पाएका कारण, विभिन्न तालिमहरुमा सहभागी भएका कारण बालबालिकामा क्षमता विकास भएको छ। क्षमता विकासको अवसर देशका प्रत्येक बालबालिकाले पनि पाउनुपर्छ । बालबालिकाको उज्वल र थप शान्तीपूर्ण भविश्यको लागि बालबालिकामा गरिएको लगानीको प्रतिफल स्वरुप बालमैत्री नगरपालिका घोषणा भएकोले, राष्ट्रको प्रगतिको लागि आज एउटा कोशेढुङ्गा बनेको छ । नगरपालिका बालमैत्री घोषणा हुनु भनेको बालअधिकारको अनुभुतीको उत्कृष्ट उदाहरण हो ।

